प्रचण्ड-नेपाललाई तह लगाए सोच्नु ओलीको भुल हुनेछः नेपाल

Madhav_Nepal
  • 328
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले ओली सरकार काम चलाउ भइसकेको बताएका छन्। तर ओलीले ‘फुल फ्लेज’ प्रधानमन्त्रीको जस्तो कार्य गरिरहेकोमा उनले असन्तुष्टि समेत जनाए।

‘प्रतिनिधि सभा विघटन गरेको हुनाले उहाँ काम चलाउ हुनुभएको छ’, नेपालले भने, ‘प्रतिनिधिसभा आफैँले विघटन गरे पनि उहाँको मानसिकता कस्तो ? प्रतिनिधि सभा विघटन पनि गर्ने र ‘फुल फ्लेज’ प्रधानमन्त्री छु भन्ने पनि ठान्ने।’

बुधवार नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले ओलीको अहिलेको शैली निरंकुश र अहंकारी भएको बताए। नेपालले ओलीले षडयन्त्रको तानाबाना बुनिरहेको आफूले सुनिरहेको भए पनि ती सफल नहुने बताए।

‘ध्वंसात्मक प्रवृत्तिले सबैलाई दुःख दिन्छ’, नेता नेपालले भने, ‘तपाईंहरुलाई लागेको हुन सक्दछ यो नेकपाभित्रका नेताहरूलाई मात्र तह लगाएको होला, नेकपाको आन्तरिक मामिला होला। भित्र दनादन दनक दिइरहेका छन् भन्ने ठान्नुहोला, यस्तो कदमले कसैलाई बाँकी राख्दैन।’

ओलीले घरमा झगडा भएपछि घरै भत्काइदिने प्रवृत्ति देखाएको उनले बताए। नेपालले पार्टीभित्र घेराबन्दी भएका कारण संसद् विघटन गरेको भन्ने तर्क उपयुक्त नभएको बताए।

‘पार्टीभित्र काम गर्न दिइएन, घेराबन्दीमा पार्न खोजियो देखाइदिएँ। न प्रतिनिधि सभा रहन्छ म मलाई गिराउँछन् भन्ने हिसाबले उहाँले संविधान विपरीत काम गर्नुभयो। घरमा झमेला भएकोले घर नै भत्काइदिने?’, उनले भने।

उनले प्रधानमन्त्री ओली थप संकट निम्त्याउन उद्धत रहेको भन्दै त्यस्तो कदम पूरा हुन नदिने बताए। उनले भने, ‘सुनिन्छ, संकटकाल लगाउने। संकट निम्त्याउँदै जाने। तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ अध्यक्ष नेपालले चुनौती दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्