बिमा समितिको अध्यक्षको पदावधी सकिदै, अझै टुङ्गो लागेन नयाँ अध्यक्ष

  • 30
    Shares
लाेकपाटी न्यूज

बीमा समितिको अध्यक्षको पदावधी शुक्रबार (भोली) देखि सकिदै छ। अगिल्लो मंगलबारदेखि अध्यक्ष चिरञ्जीवि चापागाई विदामा बसेका थिए। चार वर्षे कार्यकाल सकिन एक साता बाँकी हुँदा उनी विदामा बसेका हुन्। उनको कार्यकाल शुक्रवारबाट सकिने भएपनि नयाँ अध्यक्ष नियुक्तीको बिषयमा सम्बन्धीत निकाय अर्थात् अर्थमन्त्रालयले अहिलेसम्म तयारी नगरेको पाइएको छ।

चापागाईले २०७३ पुस २४ गते नियुक्तीपत्र पाएका थिए । अर्को कार्यकालको लागि सरकारले पुनः नियुक्ती नगरेमा चापागाईले २३ गते औपचारिक रुपमा बीमा समितिबाट विदा लिने छन्। अध्यक्ष चापागाईं पनि पुनः कार्यकाल दोहोर्याउन चाहन्छन्। तर नेकपा फुट लगायतका कारण उनले पुन नियुक्ती पाउने संभावना न्युन देखिन्छ। पूर्वमाओवादी निकट चापागाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला अध्यक्ष बनेका थिए ।

भोलिदेखि उक्त पद रिक्त हुन्छ । तर, मन्त्रालयले नयाँ अध्यक्ष चयन गर्ने बिषयमा तयारी गरेको छैन।  यस बिषयमा समितिले मन्त्रालयलाई जानकारी गराईसकेको छ । तर, मुलुकमा देखिएको राजनीतिक अस्थिरताले यसमा अन्योल थपिएको छ।

शुरुमा १० वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेको भनेर पुराना कम्पनीको तर्फबाट आलोचना खेप्नु परेपनि चापागाईको चार वर्षे कार्यकाल सफल भएको मानिन्छ । उनको चार वर्षको अवधिमा बीमाको पहुँच ७ प्रतिशतबाट २७ प्रतिशत पुग्नु, कुल ग्राहस्थ्य उत्पादामा बीमा क्षेत्रको योगदान १.५ प्रतिशतबाट ३ प्रतिशत पुग्नु, यस अवधिमा बीमा क्षेत्रमा करिव ४ अर्ब रुपैयाँ थप लगानी हुनु, हजारौको संख्यामा रोजगारी वृद्धि हुनु चापागाईको पालामा देखिने विकासका सूचकाङ्क हुन् ।

बीमा कम्पनीहरुले जोखिममा आधारित भएर पुँजी कोषको प्रबन्ध गर्नुपर्ने नियम लागू गर्नु, एनएफआरएस लागू गर्नु, संस्थागत सुशासन निर्देशिका संशोधन गरी खुकुलो बनाएर बजारलाई सहजीकरण गर्नु उनका सकारात्मक प्रयास थिए। बीमा बजारसँग सम्बन्धित पक्षको समास्या सुन्ने र समाधानका लागि सक्रिया भएर लाग्ने उनको कार्यशैली बीमा क्षेत्रका धेरैले मन पराएको बिमा क्षेत्रका जानकारहरु बताउछन। बीमा समितिको अध्यक्ष हुनको लागि बीमा क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्ति हुनुपर्ने व्यवस्था छ।

बीमा क्षेत्रको नियमनकारी निकाय हुनुको नाताले बीमा समितिको अध्यक्ष बन्न आधा दर्जन भन्दा बढि आकांक्षीहरु दौडधुपमा लागेका छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशक भएकै नाताले बीमा समितिको अध्यक्ष बन्न योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि बीमा समितिको अध्यक्ष बन्न बीमा क्षेत्रमा काम गरेको विज्ञ हुनुपर्ने फैसला यसअघि नै गरिसकेको छ। सर्वोच्च अदालतको फैसला, बीमा ऐनका कारण यस वर्ष सरकारले नेपाल राष्ट्र बैंकको पृष्ठ भूमि भएकालाई मात्रै आधार नमान्ने अनुमान गरिएको छ ।

यस पटक पनि बीमा समितिको अध्यक्ष बन्न नेपाल राष्ट्र बैंक पृष्ठभूमिका तीन जना व्यक्तिहरु दौडमा सबैभन्दा अगाडि छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी, नेपाल राष्ट्र बैंककै पूर्व निर्देशकद्वय कल्याण बन्दु अर्याल र लक्ष्मी प्रपन्न निरौला बीमा समितिको अध्यक्ष बन्ने दौडमा छन्। उनीहरु मध्ये शिवाकोटी वा अर्यालको सम्भावना बलियो भएको बताइन्छ।

नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाँई, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल, आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु लगायतले बीमा समितिको अध्यक्ष बन्ने दौडमा रहेको हालसम्म प्राप्त आकांक्षाबाट खुल्न आएको छ । यस बाहेक अन्य केही व्यक्तिहरु समेत भित्रभित्रै सक्रिय भएको हुनसक्ने आशंका गरिएको छ।

उता, अर्थमन्त्रालयले बीमा समितिको अध्यक्ष नियुक्तीका लागि सर्च कमिटी गठन गरेको छैन । सर्च कमिटी गठन गर्नै बाँकी रहेकोले अझै कम्तीमा एक साता बीमा समितिमा नयाँ अध्यक्ष नियुक्तीको सम्भावना देखिदैन।

अहिले नेपालमा २० ओटा निर्जीवन बीमा कम्पनी, १९ ओटा जीवन बीमा  कम्पनी र एक पुर्नबीमा कम्पनी गरी ४० वटा बीमा कम्पनी रहेका छन्। अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले समितिको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान  रहेको छ । यसमा योग्यताका साथसाथै राजनीतिक पावर बढी हावी हुने भएकाले कतिपयले यसलाई राजनीतिक नियुक्तिको संज्ञा दिन्छन् । तर बीमासँग सरोकार राख्नेहरु राजनीतिक शक्तिभन्दा पनि बीमा क्षेत्रमा राम्रो ज्ञान भएकाहरुलाई अध्यक्ष पद दिनुपर्ने तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्