ओली निकट नेताहरु भन्छन्ः ‘आफू डुब्ने बाटो रोज्न बाध्य छौं’

KP Sharma Oli-33
  • 8.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनपछि पार्टी नेता कार्यकर्ता एक-अर्को समूहमा प्रवेश गर्ने क्रम बढेको छ। पार्टी केन्द्रीय कमिटीदेखि स्थानीय कमिटीसम्म विभाजनको क्रममा तीव्र बनेको छ। पार्टी उपल्लो तहमा अघोषित रूपमा विभाजन आएपछि एकतासँगै उत्साहित नेता कार्यकर्ता निराश हुँदै समूह फेर्न थालेका हुन्।

पार्टी नेतृत्वको कार्यशैली, वर्तमान परिवेश र प्रवृत्तिको मूल्यांकनसहित समूह फेर्ने क्रममा बढेको हो। विशेष गरी प्रधानमन्त्रीलाई घेराबन्दी गरिए पनि त्यसको प्रतिवादस्वरुप उनले चालेको कदमले भविष्यमा ठूलो दुर्घटना निम्त्याउने नेता कार्यकर्ताको ठम्याई छ। ‘स्थायी समितिमा लगाइएका सबै आरोप सही नभए पनि प्रधानमन्त्रीको कदम भने घातक छ।’ ओली निकट एक केन्द्रीय नेताले भने, ‘हामीले साथ त दिनै पर्छ तर यो डुबिने बाटो हो।’

ओलीले समय, काल र परिस्थिति नहेरी लहडमा बोल्ने बानीका कारण अनावश्यक झण्झट थपिएको उनको बुझाई छ। ‘एमसिसीका पक्षमा उनले अडान राख्नुलाई सामान्य बुझ्न सकिन्थ्यो। यही विषयमा स्थायी समितिमा छलफल चली नै रहेको थियो।’ उनले भने, ‘तर एकाएक भारतको प्रसंग झिकेर अनावश्यक टाउको दुखाउने काम गर्नुभयो। अब आएर पार्टी फुटोस् तर सहमतिमा जान्न भन्दै हुनुहुन्छ।’

ओलीलाई भरपर्दो साथ दिएका ती नेताका अनुसार, व्यक्तिगतरुपमा ओलीलाई पदको लोभ नभए पनि उनीभित्र जन्मिने इगो समस्या बनेको हो। लामो समयदेखि साथ दिएको अवस्थामा पार्टी फुट्ने भएपछि पनि मन मारेरै ओलीलाई साथ दिनुपर्ने स्थितिमा आफू रहेको चिन्ता उनमा देखिन्थ्यो।

पार्टीमा विधि र पद्दती हुने तथा कमिटीगत छलफलमा आउने आलोचनालाई बहस र छलफलबाट टुंग्याउन सकिने भए पनि फरक विचारलाई निषेध गर्ने ओलीको प्रवृत्ति पछिल्लो दिनमा झन् बढेर गएको उनको बुझाई छ। यसअघि पनि कतिपय विषयमा अडान राख्दै आए पनि अहिले पार्टी फुटकै सर्तमा ओलीले लिएको अडान भने गलत भएको उनले बताए।

उनी मात्रै होइन, ओली निकट अधिकांश केन्द्रीय सकिटीहरुमा रहेका सदस्यहरूको चिन्ता समान छ। ओली निकट मानिने केही प्रभावशाली नेताहरूलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत प्रस्थान गर्नु केही दिनअघि खुमलटार बोलाएर सबै परिस्थितिबारे अवगत गराएका थिए। ‘मैले त्याग र सहमतिका लागि पहल नगरेको होइन।’ प्रचण्डको भनाई थियो, ‘तर ओलीजी पुरै स्वेच्छाचारी र निरंकुश बन्नु भएको छ। पार्टी फुटे फुटोस् तर पार्टीको निर्णय मान्दिन भन्नेमा पुग्नु भएको देखिन्छ। तपाईँहरू नै सम्झाउनुस्।’

प्रचण्डसँगको भेटमा सहभागी एक नेताका अनुसार आफूहरूले पार्टी एकताको रक्षाका लागि ओलीसँग परामर्श गरेको पनि सुनाए। तर ओली भने कसैको कुरा मान्ने पक्षमा छैनन्। पार्टीमा उत्पन्न विवाद बारेमा नेताहरूसँग छलफल गर्न र सुझावहरू लिन आवश्यक नै ठान्दैनन्। ती नेताका अनुसार ओली केही निश्चित नेताहरूसँग मात्र परामर्श गर्छन्। अनि नेता कार्यकर्तालाई त्यसको प्रतिरक्षामा उत्रिन आह्वान गर्छन्। ‘साँचोअर्थमा भन्ने हो भने हामीले प्रतिरक्षामा उत्रिन बाध्य छौं। तर के सही, के बेठिक बहस गर्ने छुट हामीलाई छैन। जे-जस्तो निर्णय आउँछ त्यसको आँखा चिम्लेर प्रतिरक्षा गर्नुको विकल्प छैन।’ ती नेताले भने।

केही दिन अघि दुई पक्षलाई पुनः एकीकरणका लागि दबाब दिनुपर्ने आवश्यकता महसुस गरेर नेताहरुबीच छलफल अगाडि बढेको थियो। दुवै तर्फका नेतृत्वलाई भेटेर एकता कायम गर्न दबाब दिने रणनीति अनुसार दुई अध्यक्षसँग भेटघाट भएको ती नेताको भनाई छ। नेताहरूले अत्यन्तै हतार गरेकै कारण पार्टी विभाजन हुन पुगेको उनीहरूको निचोड छ। तर यस विषयमा आफूहरू सफल हुन नसकेको उनको भनाई छ।

उनले भने, ‘सामान्य कुरा पनि अतिरञ्जित हुँदै गए पनि यो व्यक्तिगत अहम् र टकराबको अवस्थामा पुगेको हो। यसबाट पार्टी फुट्ने वातावरण सिर्जना हुन सक्छ। त्यसैले हामीले सामूहिकरुपमा एकताका पक्षमा अपिल गरेका हौं।’ ओली समूहमा वैचारिक रूपमा बहस र छलफल गर्न रुचाउने जमात ठूलो भए पनि त्यसको प्रभाव भने न्यून हुँदै गएको ती नेताको ठहर छ।

उनले भने, ‘अहिले बाहुबलले जित्न सकिन्छ भन्ने प्रवृत्ति हामीभित्र विकास भएको छ। सडकमा मानिसहरू निकाल्नु ठिक होइन भनेर समेत हामीले भनेका हौँ। तर केही साथीहरू गैर राजनीतिकरुपमा प्रतिवाद गर्न खोजिरहेका छन्।’ ओलीले राजीनामा नदिने अडान लिएपछि एकाएक देशै भरी ओली समर्थकहरूले जुलुस निकालेको घटनाप्रति उनले लक्षित गर्दै यसो भनेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्