काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमले अविश्वास प्रस्ताव आउँदै छ भन्ने थाहा भएपछि प्रधानमन्त्रीले राजीनामा दिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन्। पार्टीबाट अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता जोगिने उनको तर्क छ।
‘मैले उहाँलाई सल्लाह दिएको थिएँ, पार्टीमा जब नेताहरु अल्पमतमा पर्छन्, प्रधानमन्त्री नै भएपनि राजीनामा दिनुपर्छ,’ राष्ट्रियसभा बैठकमा गौतमले भने, ‘मलाई थाहा थिएन। उहाँले पटक पटक भन्ने गर्नुभएको थियो, मलाई अविश्वासप्रस्तावद्वारा प्रधानमन्त्रीबाट बर्खास्त गर्ने काम भयो भने दुर्भाग्य हुन्छ। म हुन्थे भने अविश्वासको प्रस्ताव लगि राखेका छन् भन्ने जानकारी हुँदा अविश्वासको प्रस्ताव दर्ता गर्नु पहिला नै राजीनामा दिन्थे। पार्टी जोगाउँथे।’
प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण पनि पार्टीमा धेरै विवाद उत्पन्न गराएको उनले बताए। तर अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीका नेतालाई पराजित गर्ने काम होला भनेर आफूले कहिल्यै नसोचेको गौतमले बताए। ‘गएको ८/९ महिनादेखि मैले आलोचना गर्ने समूहमा बसेर पनि पार्टी एकता जोगाउन अविश्वासको प्रस्तावलाई असफल गराएको थिएँ,’ उनले अघि भने, ‘पार्टीमा आरोप प्रत्यारोपसहितका पत्रअरु राख्दा पनि मैले यो सुधारका निम्ति सम्भव उपाय हुनसक्छ भनेको थिएँ। तर यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन। ५ गते प्रस्ताव जान्छ भन्ने मलाई थाहा थिएन।’