राष्ट्रिय सभाको बैठकमा कसले के भने ?

rastriya-sabha
  • 48
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बिहीबार बसेको राष्ट्रिय सभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रतिनिधि सभा विघटन, कालिकोट जिल्लामा बाढी प्रभावितको व्यवस्थापन र उखु किसानको भुक्तानी लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

यस्तै, नेकपा नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन्। आफू विरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएर पार्टी एकता रक्षा गर्ने अवसर गुमाएको गौतमले बताए।

गौतमले आफू भएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ भने। पार्टीका नेताहरूले अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटन दुबैबारे आफूलाई थाहा नदिएको गुनासो गरे। राष्ट्रियसभा बैठकमा उनले भने, ‘मैल अविश्वासको प्रस्तावको माध्यमबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने मैले सोचेको थिइन।’

गौतमले अगाडि भनेका छन्, ‘प्रतिनिधिसभा भंग गर्दा, म कम्युनिस्ट आन्दोलनको अगुवा, नेकपा एमालेभित्र सबैभन्दा बढी सङ्गठन निर्माण गर्नेमा म पर्छु होला, तर, उहाँले सोध्नु भएन। मलाई थाहा थिएन।’ उनले नेकपा विभाजनको कुनै औचित्य नभएको पनि बताए।

‘पार्टी विभाजनको कुनै औचित्य छैन’ उनले भने, ‘म एकतापछि सचिवालयको सदस्यका नाताले मैले धेरै विषय उठाएँ, नेताहरूका कार्यशैलीका सुधारका निम्ति पनि मैले धेरे अनुरोध गरेँ तर सुधार हुन सकेन, म विभिन्न कारणले विरोधीजस्तो भएर प्रकट भए।’

उनले आफू एकताको पक्षमा रहेको पनि बताएका छन्। उनले आफ्नो अहिलेको लडाइ एकताका लागि भएको बताए। तर एक्लै पार्टी एकता कायम गराउन नसक्ने हो कि भन्ने चिन्ता रहेको पनि बताए। उनले भने, ‘दुवै पक्षमा मैले कमजोरी देखेको छु। तर पनि एकताका निम्ति लामो प्रयत्न गरेको छु। फेरि पनि एकता गराउन सकिन्छ कि भनेर आफूलाई लगाइरहेको छु। उनले भने, ‘एकलै एकताको माहौल बनाउन सकिन्न की भनेर संगठनात्मक संरचना बनाएर जाने पक्षमा छु। एकता अपरिहार्य छ।’

यस्तै,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उदया शर्मा पौडेलले २०१७ साल पुस १ गतेको शाही कदमको पुनरावृति हुने गरी ६० वर्ष पछि पुस ५ गते संविधानको कुनै धारामा पनि उल्लेख नभएको काम वर्तमान सरकारले गरेको बताइन्। आफ्नै पार्टी भित्रको अन्तरविरोधका कारण प्रतिनिधि सभा विघटन गरिनु चित्तबुझ्दो कदम नभएको बताए। पाँच वर्षका लागि नेपाली जनताले नेकपालाई विश्वास र भरोसा गरी दिएको मतको अपमान भएको बताइन्।

यस्तै असंवैधानिक कदम फिर्ता लिन समेत आग्रह गरिन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै अर्का सांसद जीवन बुढाले गत भदौ महिनामा कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका, राजकोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै गाउँपालिका र सानित्रिवेणी गाउँपालिकामा भिषण बाढी र पहिरो गई ११ सय भन्दा बढी नागरिकहरु घरबार बिहीन भएको र उनीहरुको पुर्नस्थापनकालागि अहिलेसम्म केही काम नभएको बताए। अहिले कालिकोट जिल्लामा हिंउ परिरहेको र नागरिकहरु खुला आकाशमा बस्न बाध्य भएकोले सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले किसानहरुले मेहनत गरेको उखुको पैसा माग्न प्रत्येक वर्ष आन्दोलन गर्नुपर्ने अवस्था रहेको तर सरकार मौन रहेको बताइन्। उनले सरकारले आश्वासन दिने तर किसान सँधै मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। त्यसको जवाफ सरकारले दिनुपर्ने बताइन्। यस्तै किसानलाई मल बिउबिजन समयमा उपलब्ध नगराउने तर किसानले दोब्बर खाद्यान्न उत्पादन गर्नुपर्छ भन्ने सरकारको प्रवृति रहेको बताइन्। त्यसैले सरकार जवाफदेही भएर किसानको हितमा काम गर्न माग गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल ओलीले अमेरिकी संसदमा भएको हिंसात्मक गतिविधिले विश्वको प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको बताइन्। यो घटनाबाट संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने सबै देशलाई थप चुनौति र चिन्ताको वातावरण बनाईदिएको बताइन्।