काठमाडौं। नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको आरोप लगाएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका थिए।
‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने ? अरु राजनीतिक दलले मात्र मानिदिनुपर्ने’ उनले प्रश्न गरे ‘प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको ? उहाँले जे गर्नुहुन्छ त्यो मानिदिनुपर्ने ?’ सांसद रायमाझीले प्रधानमन्त्री ओलीले संविधान विपरीत संसद विघटन गरेको र काम चलाउन भइसकेको सरकारमा मन्त्री थप गरेको भन्दै आलोचना गरे।
उनले प्रधानमन्त्रीको मानसिक सन्तुलन गुमिसकेको हो कि भन्ने प्रश्न गरे। संविधानअनुसार प्रधानमन्त्री रहन संसद सदस्य रहनुपर्ने, बहुमत सांसदको समर्थन हुनुपर्ने र मानसिक अवस्था ठीक हुनुपर्ने उल्लेख गरेको भन्दै रायमाझीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने भनि प्रश्न गरे। ‘असंवैधानिक काम गर्ने व्यक्ति प्रधानमन्त्री हुन सक्छ कि सक्दैन ?’ उनले भने ‘उहाँको मानसिक सन्तुलन गुमिसक्यो भन्न मिल्छ कि मिल्दैन ?’