पछिल्लो समय नेप्से परिसूचकले दैनिक नयाँ उचाइ कायम गरिरहेको छ। यस साता मात्रै नेप्सेले तीन पटक एक पछि अर्को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९१ अंक बढेर २१९४.४९ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो।
यसै साताको पहिलो कारोबार दिन नेप्सेले सो अघिको अलटाइम हाइ रेकर्ड तोडेर २१७५.२८ को नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई हिजो अर्थात बुधबार तोडेर २१७८.५७ को अलटाइम रेकर्ड बनाएको नेप्सेले आज पुनः सो रेकर्डलाई तोडेर २१९४.४९ विन्दुको नयाँ रेकर्ड बनाएको हो।
नेप्सेले दैनिक नयाँ रेकर्ड बनाउँदै गर्दा दोस्रो बजारका लगानीकर्ताहरु उत्साहित भइरहेका छ। नेप्से अझै माथि जाने लगानीकर्ताहरुले अनुमान गरेका छन्। अहिलेको शेयर बजारलाई बैंक तथा वित्तीय संस्थाहरुको घट्दो ब्याजदरले प्रत्यक्ष टेवा दिइरहेको जानकारहरु बताउँछन्। यसका साथै ट्रेण्ड परिवर्तनले पनि लगानीकर्ताहरुको मनोबल बलियो बनाइरहेकोले आगामी दिनमा नेप्से अझै माथि जाने उनीहरुको भनाइ छ। यद्यपी, बढ्दो बजारमा शेयर खरिदबिक्री गर्दा भने निकै ध्यान पुर्याउनु पर्ने उनीहरु बताउँछन्। शेयर खरिदबिक्री गर्नु अघि राम्रोसँग विश्लेषण गरी मात्र शेयर खरिद गर्न उनीहरु सुझाब दिन्छन्।
बिहीबार बजारमा २०८ कम्पनीको ५० हजार ९३३ पटकको कारोबारमा ५ अर्ब ८७ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ४५ करोड रुपैयाँ बढी हो। बुधबार बजारमा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।
यस दिन कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मल्टीपपर्स फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको एभरेष्ट बैंकको परिवर्तिय अग्राधिकार शेयरको मूल्य यस दिन सर्वाधिक ३.८१ प्रतिशत घटेको छ।
यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४।७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २।०६ प्रतिशत बढेको छ भने वित्त, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक भने ०.२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३१ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४४ लाख बराबरको शेयर खरिदबिक्री भएको छ।