केपी ओली ज्ञानेन्द्र शाहको पथमा हिँडेः योगेश भट्टराई

yogesh-bhattarai
  • 655
    Shares
लोकपाटी न्यूज

पोखरा। नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरेका छन्। बिहीबार पोखरामा आयोजित कार्यक्रममा भट्टराईले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईँले गल्ती गर्नुभयो। अब ढिला नगरी घर फर्किनुस्, अहिल्यै फर्किनु भयो भने समय छ, तीन वर्षपछि फर्किँदा समय घर्किनेछ।’

प्रधानमन्त्रीओलीले आफ्नो स्वार्थमा विघटन गरेको संसद् ब्युँताउन तीन महिना पनि नलाग्ने उनले बताए। ‘संसद जुन हालतमा पनि ब्युँतिन्छ,’ उनले भने, ‘धेरै होइन तीन महिनाभित्र संसद पुनस्थापना हुन्छ। हामी यसै बोलिएको छैन। केही तथ्य भएर नै बोलेका हौ। सर्वोच्च अदालतको प्रक्रिया, निर्वाचन आयोगको ध्यानाकर्षणले संसद् पुनस्थापना हुने देखिएको छ।’

भट्टराईले प्रधानमन्त्री ओलीले क्रान्तिमाथि कुठाराघात गरे, अग्रगमनमाथि, संघीय लोकतन्त्रमाथि कुठाराघात गरेको बताए। उनी प्रतिक्रान्तिका नायक भएको पनि उनले बताए। नेता भट्टराईले अधिनायकवादी ओलीलाई सेनाले पनि साथ नदिने बताए।

‘ज्ञानेन्द्र शाहको पथमा हिँडेका ओलीलाई सेनाले पनि साथ दिँदैन,’ उनले भने, ‘ज्ञानेन्द्रको जत्तिको जग ओलीको छैन। ज्ञानेन्द्रलाई त साथ नदिएको सेनाले ओलीलाई पक्का साथ दिँदैन।’ सेना लोकतान्त्रीकरण भइसकेको बताउँदै उनले भने, ‘सेना सत्ता र शक्तिको पछि लाग्दैन। सेनाले अब ज्ञानेन्द्रलाई जस्तै भन्नेछ,’ प्रधानमन्त्री ज्यू, हजुरलाई सिंहदरबारबाट बालकोट सिफ्ट गर्दैछौं।’

प्रधानमन्त्री ओलीलाई भारतकी नेत्री इन्दिरा गान्धीको इतिहास पढ्न अनुरोध गर्दै भट्टराईले भने, ‘अहिले प्रम ओलीलाई सत्ता र शक्तिको मात चढेको छ। अहिले पार्टीमा हुँदा पार्टीको महत्त्व बुझ्नुभएको छैन, जुन दिन महत्त्व बुझ्नुहुन्छ नि त्यो दिन उहाँ पार्टीमा हुनुहुने छैन।’ नेकपा नफुटेको, प्रमको राजीनामा माग नगरिएको बताउँदै उनले नेकपालाई चार वटा विकल्प अझै रहेको बताए। उनले राजीनामा मागिहाल्नुपर्ने अवस्था नरहेको र सहमतिमा ओलीले नै सरकार चलाउन सक्ने बताएका छन्।

नेता भट्टराईले सुर्यचिह्नमा अरूले आँखा लगाए पनि आफूहरू बाहेक अरूले नपाउने बताए। उनले भने, ‘सूर्य चिह्न हिजो पनि हामीसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।’ उनले चुच्चे नक्सा जारी गरेर वाहवाही कमाएका प्रधानमन्त्रीले त्यही चुच्चेनक्सा छापिएको किताब वितरण गर्न नदिएर भारतप्रति खातिर दारी गरेको आरोप लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्