चुनाव प्रतिगमनकारीको धन्दा होः राजेन्द्र महतो

Rajendra-Mahato
  • 57
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले चुनाव प्रतिगमनकारीको धन्दा भएको टिप्पाणी गरेका छन्। देशमा संसद पुनस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने उनले ठोकुवा गरे। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशमा मध्यावधी चुनाव भए फेरि प्रतिगमन हुने दाबी गरे।

देशमा मध्यावधी चुनाव हुन्छ भन्ने प्रश्नमा महतोले भने, ‘चुनाव प्रतिगमनकारीको धन्दा हो।’ उनले पटक पटक प्रतिगमनहरू भएको उल्लेख गरे। अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो। महतोले भने, ‘अमेरिकामा एउटा संविधान २ सय वर्ष भइसक्यो, भारतमा ६५ वर्ष भइसक्यो। ७० वर्षमा नेपालमा सातवटा संविधान बनिसक्दा पनि समस्या के हो ?’ देशमा अहिलेको संविधानले प्रतिगमन गरि राख्ने ठोकुवा गरे।

संसद पुनस्थापना र मध्यावधि चुनाव दुवैबाट अहिलेको समस्या समाधान नहुने उनको तर्क छ। किस्ताबन्दीमा संसद पुनस्थापनाको कुरा गरेर अलमलाउने गतिविधि भइरहेको उनको जिकिर छ। ‘संसद पुनस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तको मात्र स्वार्थ रक्षा गर्छ,’ महतोले भने, ‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ।’

उनले बहुराष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुने बताए। बहुराष्ट्रिय राज्य स्थापना गरेपछि जोसुकै प्रधानमन्त्री भए पनि फरक नपर्ने उनको भनाई छ। महतोले पटक पटक बहुलराष्ट्रिय राज्य स्थापनामा जानैपर्ने बताए। बहुलतामा नगएसम्म प्रतिगमन भइरहने र गोलचक्करमा देश फसिरहने बताए। आफूहरु बहुराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने अभियानमा लागेको समेत बताए। ब्यानर परिवर्तन गर्ने भन्दा स्थायी समाधानमा लाग्नुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्