केपी ओलीले जनमतमाथि कुठाराघात गरेः चित्रबहादुर केसी

chitra-bahadur kc
  • 304
    Shares
लोकपाटी न्यूज

दाङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले भारतको सहयोगमा संसद् विघटन गरेको आरोप लगाएका छन्। बिहीबार घोराहीमा आयोजित विरोध र्‍यालीमा अध्यक्ष केसीले संसद् विघटन गरेर ओलीले नेकपा र जनतालाई धोका दिएको बताए।

प्रधानमन्त्रीले जबरजस्ती र संविधान विपरीत गएर संसद् विघटन गरेर चुनावमा धकेल्दा राज्यलाई करोडौंको घाटा लागेको उनले टिप्पणी गरे। उनले नेकपाभित्रको लडाइ देश बनाउने भन्दा पनि आन्तरिक सत्ता र पदको झगडा भएको भन्दै पार्टी भित्रको झगडा मिलाउन नसकेर संसद विघटन गरेर जनमतमाथि कुठाराघात गरेको आरोप लगाए।

जनमोर्चा अध्यक्ष केसीले ओलीले रजाइँ गरेको देखेर प्रचण्ड र माधव नेपालले हारेको गोरु जस्तै टाढा बसेर हेर्नुपरेको पीडा एकअर्कालाइ गालीगलौज गरेर अभिव्यक्त गरिरहेको जिकिर गरे। नेकपाको आन्तरिक लडाईंको चपेटामा मुलुक परेको आरोप लगाए। सत्ता, स्वार्थ र शक्तिको लडाइँका कारण देश गम्भीर अवस्थामा पुगेको भन्दै अब जनता जाग्नु पर्ने बेला आएको केसीले बताए।

‘सत्ता र शक्तिमा पुगेका नेताहरूले जनताको पीडा बुझ्न सकेनन्, उनीहरूले पार्टीलाई भर्ती केन्द्र जस्तै बनाएर शासन गरे’, उनले भने, ‘लोकतन्त्र, गणतन्त्रलाई जोगाएर राख्नका लागि नेकपाको सरकारलाई जनमोर्चाले समर्थन गरेको हो।’ उनले अप्रजातान्त्रिक, असंवैधानिक तरिकाले संसद विघटन गर्नलाई आफूले समर्थन नगरेको भन्दै संसद् विघटन भएको दिन देखि नै जनमोर्चाले समर्थन फिर्ता लिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्