नेम्वाङलाई नागरिक अगुवाको प्रश्नः लोकतन्त्रभन्दा ठूलो ओली नै हुन त ?

Nagarik
  • 7.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नागरिक समाजका अगुवाहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक हुँदा समेत संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ मौन बसेकोमा आलोचना गरेका छन्। नेकपाले बिहीबार आयोजना गरेको अन्तरक्रियामा सहभागी नागरिक अगुवाले नेम्वाङको चर्को आलोचना गरेका हुन्।

उनीहरूले संविधानविपरित प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको गलत कदममा नेम्वाङले समेत साथ दिएकोप्रति आक्रोश व्यक्त गरेका छन्। मानव अधिकारकर्मी कृष्ण पहाडीले सुवास नेम्वाङ आफूलाई भद्र नेता लाग्ने बताए। तर ओलीको पक्षमा लागेर उक्त भद्रताको हत्या नगर्न उनले आग्रह गरे।

‘खड्गप्रसाद ओली सबैभन्दा ठूलो लोकतन्त्र विरोधी र प्रतिगामी व्यक्ति हो। अब उहाँ त जानुभयो जानुभयो। तर उहाँले आफ्नो होनहार कार्यकर्तालाई पनि सँगै लानू भयो,’ पहाडीले भने, ‘सुवास नेम्वाङलाई म आज पनि भद्र नेता मान्छु। प्रदीप ज्ञवालीलाई पनि भद्र मान्छु। तर भद्रता खड्क प्रसादको पछाडि बित्नु भएन।’ पहाडीले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक हो भन्ने कुरा पाँच कक्षामा पढ्ने विद्यार्थीले समेत संविधान पढेर थाहा पाउँछन् भन्दै यसको पुनर्स्थापना हुनेमा आफू ढुक्क रहेको बताए।

‘विगतको तितो अनुभवलाई मध्यनजर गरेर नै विकृति अन्त्य गर्न प्रतिनिधिसभा विघटन गर्न नमिल्ने गरी संविधानमा राखिएको छ। पाँच कक्षा पढेका विद्यार्थीलाई पनि यो कदम असंवैधानिक हो भन्ने थाहा छ। त्यस कारण सर्वोच्चले यो पुनर्स्थापना गर्छ।’ पार्टीको आन्तरिक किचलोका कारण संसद विघटन गरिनु अपराध भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीको पतन निश्चित भएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले नेम्वाङको नाम नलिइकन उनको आलोचना गरे। उपाध्यायले संविधान निर्माणमा संलग्न रहेका व्यक्तिले संकटको यो घडीमा आफ्नो चेतलाई मारेर मौन बस्न नहुने बताए।

‘केही साथी स्वयं आफैँ संविधानको निर्माता रहेता पनि नबोली बस्नु आफ्नै स्वार्थ होला। यो संविधानको कुरा हो। जनताको कुरा हो। सत्यको कुरा हुँदा उक्त व्यक्ति बोल्नु पर्थ्यो,’ उनले भने, ‘जो आफैँ संलग्न छ त्यही व्यक्ति आज बाध्यतावश आफ्नो चेतलाई मारेर बस्नु परेको छ। तर हामी त्यस्तो अवस्थामा छैनौं। हामी आफ्नो चेतलाई मार्दैनौ। यो असंवैधानिक कदमका विरुद्धमा आन्दोलनमा होमिन तयार छौं।’

राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले पनि नेम्वाङको मौनताका विषयमा आलोचना गरे। उनले विगतमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैन भन्दै बोलेका व्यक्ति नै अहिले उक्त गलत कदममा मौन समर्थन गरिरहेको बताए। वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि नेम्वाङको मौनता माथि प्रश्न गरे।

‘प्रतिनिधिसभाको आयु छँदै अकालमै विघटन गरियो त्यो पनि धारा ७६ को घोर उल्लंघन गरेर। तर मेरा मित्र सुवास नेम्वाङ मौन हुनुहुन्छ। उहाँ बोल्नु हुन्न। भिडियो भाइरल भएको छ। तर पनि उहाँ केही बोल्नु हुन्न,’ उनले भने। अन्तरक्रियामा नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले प्रतिनिधिसभा विघटनको मुद्दालाई पूर्ण इजलासमा लैजानु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्