कालोझण्डा देखाएपछि पोखरेलले भने : ‘‘पार्टी एकता आवश्यक छ’’

Ishwor_Pokhrel
  • 1.2K
    Shares
लोकपाटी न्यूज

सिन्धुपाल्चोक। उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी वैशाखमा जसरी पनि निर्वाचन भएर छाड्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको प्रतिनिधिले जनताबीच जान्छु’ भनेर निर्वाचन मिति तोकेको उनले बताए।

बलेफी गाउँपालिका–७ खाडीचौरमा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री पोखरेलले भने, ‘‘यसलाई अन्यथा लिनुपर्ने कारण छैन, उहाँहरु (पुष्पकमल दाहाल–माधवकुमार नेपाल) चुनावदेखि भागिराख्नुभएको छ।’’

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गर्दै उनले अध्यक्ष पुष्पकमल दाहालले गल्ती स्वीकार्दै फर्किए पार्टी एक हुने बताएका छन्। दाहाललाई पार्टीको कार्यकारी पदबाट नहटाउँदा पनि दाहाल आफैंले गल्ती गरेर गुट बनाएको उनको आरोप छ। ‘प्रचण्डले सबै गल्ती सच्याएर फर्किनुभयो भने पार्टी एक हुने सम्भावना छ,’ उनले भने। दाहालले जिम्मेवारी बहन नगरेका कारणले कार्यकारी अधिकार खोसेको उनको भनाइ छ।

पार्टीभित्रको काम गर्न, एकताको बाँकी काम सकाउन, महाधिवेशनकेन्द्रित काम गर्न अधिकार दिएकोमा जिम्मेवारी पूरा नगरेको उनको कथन छ। भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा युवा तथा खेलकुदमन्त्री दावा तामाङले पार्टी फुटाएर साथीहरुले पार्टीप्रति अन्तर्घात गरेको बताए। ‘गुट–उपगुट बनाएर उहाँहरुले कम्युनिस्ट सिद्धान्तको धज्जी उडाउनुभएको छ,’ उनले भने।

मन्त्रीलाई कालोझन्डा

बिहीबार अरनिको राजमार्गमा दौडिरहेको दुई मन्त्रीको सवारी साधनलाई राजमार्गको कोठे र खाडीचौर बजारमा दाहाल–नेपाल समूहका युवाहरुले कालो झण्डा देखाउँदै आक्रोश पोखेका छन्। उक्त समूहका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र युवा संघका कार्यकर्ताहरुले अनेरास्वयियूको केन्द्रीय सर्कुलरअनुरुप नै कालोझन्डा देखाएर स्वागत गरिएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन तामाङले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेता तथा भातृ संगठनका कार्यकर्ताले विरोध कार्यक्रम गर्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्