डोनाल्ट ट्रम्पले हार स्विकारे

Donald_Trumps
  • 34
    Shares
लाेकपाटी न्यूज

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको बताएका छन् । बुधबार सुरु भएको हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् । ‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन् । तिनीहरुले त्यसको मूल्य चुकाउनुपर्छ,’ ट्रम्पले ट्विटरमा भिडियो पोस्ट गर्दै भनेका छन् ।

अमेरिकामा भर्खरै सनसनीपूर्ण चुनाव भए पनि त्यसलाई अब शान्त पार्नुपर्ने पनि राष्ट्रपति ट्रम्पले बताएका छन् । आफ्नो चुनावी क्याम्पेनले सधैँ अमेरिकी प्रजातन्त्रका लागि लडेको र मतदाताको वैधताका बारेमा प्रश्न उठाएको पनि उनले बताए । डेमोक्रेटिक सांसदहरुले ट्रम्पले हिंसालाई उक्साएको र अझै उक्साउन सक्ने उल्लेख गर्दै अमेरिकी संविधानको २५औं संशोधनमार्फत उनलाई हटाउनुपर्ने माग गरिरहेका बेला ट्रम्पको वक्तव्य आएको हो । ट्रम्पको कार्यकाल सकिन १३ दिन मात्रै बाँकी रहेको छ ।

अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले यस पटक भने आफ्नो हार स्वीकार गरेका छन् । भविष्यमा हुने चुनाव निष्पक्ष रुपमा हुने विश्वास व्यक्त गर्दै ट्रम्पले भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’

राष्ट्रपति ट्रम्पले अबको समय पीडामा ‘मलम लगाउने र मेलमिलाप’ को भएको पनि बताएका छन् । सन् २०२० महामारीले गर्दा हजारौंको ज्यान गएको र निकै दुस्खदायी भएको बताउँदै अब सबै मिलेर यसले विभिन्न क्षेत्रमा पुऱ्याएको क्षतिलाई पुनस् उकास्ने समय आएको पनि उनले बताए। अमेरिकी कंग्रेसको संयुक्त बैठकले डेमोक्रेटिकका जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेको छ । नोभेम्बर ३ मा भएको चुनावमार्फत बाइडेनसँगै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकी थिइन् ।

संसद्ले प्रमाणित गरेपछि अब बाइडेन तथा ह्यारिसलाई पदभार ग्रहण गर्ने बाटो खुलेको छ । उनीहरूले जनवरीमा २० मा कार्यभार सम्हाल्नेछन् । बाइडेनले ३०६ र वर्तमान राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका उपराष्ट्रपति माइक पेन्सले अमेरिकी कंग्रेसमा घोषणा गरेका हुन् । राष्ट्रपतिमा निर्वाचित हुन् २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ ।

बाइडेन र ह्यारिसको जित प्रमाणीकरणको प्रक्रिया सुरु हुनै लाग्दै ट्रम्प समर्थकहरू हतियारसहित क्यापिटल हिल भवनमा प्रवेश गरेका थिए । हिंसात्मक प्रदर्शनहरूका कारण एक जना प्रहरीसहित ५ जनाको ज्यान गएको वासिङ्टन प्रहरीले जनाएको छ । एक जनाको प्रहरीको गोलीले र अन्य तीन जनाको मेडिकल इमर्जेन्सीका कारण मृत्यु भएको जनाइएको छ । झडपमा घाइते भएका प्रहरीको भने उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

नोभेम्बरमा भएको चुनाव रद्द गर्नुपर्ने मागसहित ट्रम्प समर्थकले गरेको हिंसात्मक प्रदर्शनपछि वासिङ्टनमा डीसीमा दुई साता लामो कर्फ्यु लगाइएको छ । प्रहरीले कर्फ्यु उल्लंघन गर्ने ४७ सहित ५२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्