भारतमा वर्डप्लू, नेपाल उच्च जोखिममा

  • 13
    Shares
लाेकपाटी न्यूज

भारतका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च जोखिम बढेको छ । भारतमा विभिन्न राज्यमा ठूलो संख्यामा कुखुरा मरेका समाचार बाहिरिएका छन् । कुखुरासँगै ती क्षेत्रमा लगभग २७ सय घुमन्ते चरा पनि मरेका छन् । नेपाल–भारत खुला सीमाका कारण त्यसको जाखिम यहाँ पनि उच्च रहेको सरकारी अधिकारीहरू बताउँछन् ।

‘भारतमा कुुखुरा र चरा मरेका समाचार सार्वजनिक भइरहेका छन् । भारतमा बर्डफ्लु भएपछि नेपालमा पनि सर्ने सम्भावना उच्च हुन्छ,’ पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘नेपालमा पर्ने जोखिम न्यूनीकरण गर्न विभागअन्तर्गतका सबै निकाय रोग नियन्त्रण शाखा, ल्याब, क्वारेन्टाइन, बजेट शाखा र अनुगमन शाखालाई सतर्क रहन निर्देशन दिएका छौं ।’

विभागअन्तर्गत आठ वटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्ट छन् । सबैलाई सतर्क गराइएको ढकालले जानकारी दिए । व्यवसायीका अनुसार तुलनात्मक रूपमा मासुको भाउ नेपालमा महँगिएपछि भारतबाट तस्करी बढ्दो छ । व्यवसायीकै पहलमा तस्करी गर्ने गिरोहहरू पक्राउसमेत परेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताए ।

‘मंसिर र पुसमा करिब १० गाडी समातेर नष्ट गरेका थियौं,’ उनले भने, ‘भारतबाट एक गाडी ल्याए ५०र६० हजार फाइदा हुन्छ । त्यही भएर तस्करी भइरहेको छ ।’ दसैंतिहारताका नेपालमा मासु सस्तो हुँदा तस्करी रोकिएको थियो । पछिल्लो दिनमा कुखुराको मूल्य बढिरहेको छ । संघले नै प्रतिकिलो ३ सय ७० रुपैयाँ मूल्य तोकेको छ । नेपालमा भाउ बढेपछि तस्करी बढ्न थालेको हो ।

‘तस्करी भइरहँदा पनि सरकारी निकायले केही गर्दैन, दुई–चार पैसा दिँदा छाड्ने गरिएको छ,’ अध्यक्ष बीसीले भने, ‘भारतमा बर्डफ्लु हुँदा त्यहाँ केही राज्यमा कुखुरा मासु बन्देज भयो, अब भारतको कुखुरा यहाँ डम्पिङ गर्ने डर छ ।’ बीसीका अनुसार नेपालमा कुखुराको मासुसँगै चल्ला पनि तस्करी हुन्छ । व्यवसायीकै मिलोतोमा भारतबाट आयात गरिन्छ । पोल्ट्री सप्लायर्सले भेटेरिनरी डाक्टरसँग पनि सेटिङ मिलाएका हुन्छन् । डाक्टर भन्सारमा बस्दैनन् । त्यसको फाइदा उठाउँदै ब्रोकरले यहाँ डम्प गर्ने गरेको संघको दाबी छ ।

विभागका सूचना अधिकारी ढकालले भने अवैध रूपमा पैठारी भएर आउने वस्तुको नियन्त्रण दायित्व सीमा सुरक्षा, प्रहरी, भन्सारलगायतको हुने दाबी गरे । यस विषयमा भन्सार, सीमा सुरक्षालगायतलाई पनि जानकारी गराइएको उनले बताए । विभागका अनुसार कुखुराको मासु, अन्डालगायतमा नेपाल आत्मनिर्भर उन्मुख छ । भारतबाट चल्ला र दाना आउने ढकालले बताए । ‘चल्लाका लागि विभागले सिफारिस गर्नुपर्छ । त्यसको बैठक महिनामा दुई पटक मात्रै बस्छ । रोग भएका ठाउँबाट चल्ला ल्याउन विभागले अनुमति दिँदैन,’ ढकालले भने, ‘कच्चा पदार्थ, दाना, अन्डालगायतका विषय क्वारेन्टाइनले हेर्छ । रोग भएको पुष्टि नेपाल आउन दिँदैन ।’

जोखिम भएकै कारण उच्च सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए । भारतमा देखिएको बर्डफ्लुबारे तीन–चार दिनयता मात्रै जानकारी पाएको उनले बताए । उच्च सतर्कता अपनाउन पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टा, विराटनगर, वीरगन्ज, काठमाडौं, नेपालगन्ज र गड्डाचौकीलाई लिखित रूपमै सर्कुलर गरिएको उनले जानकारी दिए । ‘भारतमा मुख्यगरी मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाञ्चल प्रदेशमा बड्फ्लु देखियो । खुला सीमाका कारण भारतसँगै तेस्रो मुलुकबाट पनि आयात हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा बर्डफ्लु नियन्त्रण आदेश २०६४ अनुसार नष्ट गर्ने, प्रक्रिया पुर्‍याएर आएको भए वा पुर्‍याउन बाँकी भए फिर्ता पठाउने र अवैध भए नष्ट गर्ने गरी समन्वय गरिरेहका छौं ।’

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरेर शंकास्पदरजोखिम जोडिएका पदार्थ कुखुराको मासु र मासुजन्य पदार्थमा रोक लगाउन पत्र पठाइएको घिमिरेले बताए । विभागका अनुसार दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले पनि बडफ्लुको उच्च जोखिम देखिएको छ । बर्डफ्लु नेपाल भित्रिए किसानलाई दिनुपर्ने राहतका विषयमा पनि छलफल भइरहेको सूचना अधिकारी ढकालको भनाइ छ । बिहीबार भएको छलफलमा क्षतिपूर्तिका लागि अर्थ मन्त्रालयसँग रकम माग गर्ने निर्णय भएको जनाइएको छ । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्