प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा बढाए गतिविधि, यस्तो छ कारण

KP Sharma Oli-33
  • 43
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिममा ध्यान केन्द्रित गरेको छन्। नेकपा औपचारिक रूपमै विभाजन उन्मुख रहेका बेला प्रचण्ड-माधव पक्षको राम्रो पकड देखिएको सुदूरपश्चिममा आफ्नो प्रभावलाई यथावत् राख्दै, आफ्नो पकड सुधार्न ओली यस प्रदेशमा केन्द्रित हुन थालेको हुन्। सुदूरपश्चिममा प्रचण्ड-नेपालको पकड बलियो छ। ओली पक्ष भने यस प्रदेशमा कमजोर रहेको छ।

उनले सुदूरपश्चिममा आफ्नो प्रभाव जमाउन मन्त्रिमण्डलमा पनि यस प्रदेशलाई प्राथमिकतामा राखे। ओलीले सुदूरपश्चिमबाट चार जनालाई क्याबिनेट मन्त्री बनाए। कैलालीका गौरीशंकर चौधरी, डोटीका प्रेम आले र दार्चुलाका गणेश ठगुन्ना मन्त्री थपिएका हुन् भने लेखराज भट्ट यसअघि नै मन्त्री थिए। चौधरी र भट्ट माओवादी पृष्ठभूमिका हुन्। ओली पक्षले नेता कार्यकर्तालाई आकर्षित गर्न प्रधानमन्त्री ओलीलाई आज धनगढीको खुलामञ्चमा उभ्याउने भएको छ।

प्रधानमन्त्री धनगढी आउँदा यहाँका रुष्ट नेता तथा कार्यकर्तालाई फकाउन सजिलो हुने उनी निकट एक नेताको बुझाइ छ। ओलीनिकट एक नेताका अनुसार अहिले प्रधानमन्त्रीले सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर गतिविधि गरिरहेको बताए। ओलीनिकट अर्का प्रदेश सांसद लीलाधर भट्टले प्रधानमन्त्री शुक्रवार धनगढी आएपछि अहिलेको अवस्थामा फेरबदल आउने दाबी गरे। अहिले ओली पक्षको मुख्य उद्देश्य रावल र उनको इसारामा चल्ने प्रदेशसभा तथा सरकारलाई कमजोर बनाउने रहेको देखिन्छ।

प्रधानमन्त्री आउनुअघि नै सुदूरपश्चिमका चार जना संघीय मन्त्री धनगढीमा आएर नेता तथा कार्यकर्तालाई रुझाइरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री प्रेम आलेमगर, श्रम तथा रोजगार मन्त्री गौरिशंकर थारु तथा सामान्य प्रशासनमन्त्री गणेश सिंह ठगुन्नाले अहिले यहाँका नेता तथा कार्यकर्तालाई गोप्य रूपमा भेट गर्दै उनीहरूलाई आफ्नो पक्षमा तान्ने प्रयत्न गरिरहेका छन्। हालसम्म बाजुरामा अध्यक्ष र सचिव तथा कैलाली र कञ्चनपुरमा अध्यक्ष मात्रै ओली पक्षमा खुलेका छन्।

अन्य जिल्लाको नेतृत्व र बहुमत संख्या आफैंतिर रहेको प्रचण्ड-नेपाल पक्षका नेताहरूको दाबी छ। सुदूरपश्चिममा आफ्नो पक्ष कमजोर हुनुमा ओलीले सुदूरपश्चिमको प्रदेश संगठन र खास गरी यहाँको नेतृत्व गर्ने रावललाई बाधक मानेको देखिन्छ। रावलकै नेतृत्वमा हालै बसेको प्रदेश कमिटीमा बहुमत संख्या उपस्थित रहेको केन्द्रीय सदस्य प्रकाशबहादुर शाहको दाबी छ। तर, आफ्नो पक्षमा भएका नेता तथा कार्यकर्तालाई भड्कन नदिन प्रचण्ड-माधव पक्षले समेत गृहकार्य जारी राखेको छ।

जसका लागि प्रचण्ड-माधव पक्षका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य भीम रावल विगत एक सातादेखि धनगढीमै डेरा जमाएर बसेका छन्। उनले ओली पक्षमा लाग्न खोजेका धेरै प्रदेशसभा सदस्यलाई मन्त्री तथा राज्यमन्त्री बनाउने आश्वासनसहित आफ्नै समूहमा रोकिरहेका छन्। नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा समेत आफैँ उपस्थित भएर नेता रावलले आफ्नो पक्षमा भएका प्रदेशसभा सदस्यको मनोबल उच्च बनाउने प्रयत्न गरेका थिए।

उनी अहिले पनि शुक्ष्मरुपमा नेता तथा कार्यकर्ताको निगरानी गरिरहेका उनी निकट प्रदेशसभा सदस्यले बताए। राजनीतिक विरासतलाई जोगाउने तथा भत्काउने खेलमा नेकपाकै दुई खेमा लागिरहँदा धनगढीमा प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन भने हम्मे हम्मे परेको छ। चार जना मन्त्रीसहित उच्चस्तरीय नेताहरू आउँदा जिल्ला प्रहरी कार्यालयमा भएको जनशक्ति खटाएर मात्रै नभ्याउने अवस्था आएको प्रहरीको भनाइ छ।

प्रधानमन्त्रीको स्वागतका मुख्यमन्त्री नजाने

प्रधानमन्त्री ओलीले आज धनगढीमा पार्टीको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। तर मुख्यमन्त्रीको कार्यालयले प्रधानमन्त्रीको भ्रमणको औपचारिक जानकारी नआएको जनाएको छ। भ्रमणको जानकारी नभएपछि प्रधानमन्त्री ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी विमानस्थलमा नजाने भएका छन्।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले आधिकारीकरुपमा प्रधानमन्त्री आउने जानकारी मुख्यमन्त्रीको कार्यालयलाई नआएको बताए। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा विवाद देशैभर चुलिएको छ। मुख्यमन्त्री भट्ट प्रचण्ड-नेपाल पक्षमा छन्। प्रधानमन्त्री धनगढी जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्