सर्वाेच्चकाे काम संविधानकाे व्याख्या गर्ने हाे, संविधान संशाेधन गर्ने हाेइन : नारायणकाजी श्रेष्ठ

Narayankaji shrestha
  • 1.9K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सदर गर्न संविधानलाई संशोधन नगर्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्चले त्यसलाई उल्ट्याउनुपर्ने बताएका हुन्।

सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सदर गरे संविधान नै कागजको खोस्टामा परिणत हुने उनले जिकिर गरे। सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने श्रेष्ठको तर्क छ। त्यसलाई कुनै पनि हालतमा सहन नसकिने उनले चेतावनी दिए।

श्रेष्ठले प्रधानमन्त्रीले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको आरोप लगाए। पार्टीको स्थायी कमिटी बैठक बसिरहेको र केन्द्रीय कमिटीको बैठक आह्वान भएको अवस्थामा प्रधानमन्त्रीले हठात संसद् विघटन गरेर संविधान मिचेको आरोप लगाए। राजनीतिक दलको आन्तरिक मामिलाका कारण संविधानको हत्या गर्न नपाइने श्रेष्ठको भनाइ छ। आफ्नो पदीय स्वार्थमा घात हुने भयो भन्ने लाग्दैमा पार्टी विधान पनि मान्दिनँ, संविधान पनि मान्दिनँ भन्न नपाइने उनले बताए।

संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएको उनले दाबी गरे। पार्टीको आन्तरिक मामिलाको कारणले नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधानको हत्या गर्न नपाइने भन्दै पार्टी प्रवक्ता समेत रहेका सांसद श्रेष्ठले प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध सडकमा जानु परेको बताए। उनले संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेपनि सर्वोच्चलाई संविधान संशोधनको अधिकार संविधानले नदिएको उनले बताए।