आयकर बुझाउने समय चैत मसान्तसम्म थप गर्न माग

  • 8
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आयकर बुझाउने म्याद चैत मसान्तसम्म थप गर्न माग गरेको छ । संघले यही पुस मसान्तभित्र पेस गर्नुपर्ने चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सकिएको आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको हो ।

संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले नेतृत्वको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर म्याद थप गर्न माग गरेको छ । कोभिड–१९ महामारीका कारण लेखापरीक्षण कार्यसहित सोको कार्यान्वयन चुनौतीपूर्ण देखिएको भन्दै संघले ती कानुनी प्रबन्धको समय तीन महिना थप गरी आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने समय आगामी चैत मसान्तसम्म बढाउन माग गरेको हो ।

आयकर ऐनको दफा ९५ अनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ । सोही ऐनको दफा ९६ ले अघिल्लो आर्थिक वर्ष ९यसपालिको हकमा आव २०७६/७७ को लेखापरीक्षणपछिको आयकर विवरण पनि आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै बुझाइसक्नु पर्छ । कम्पनी ऐन २०६३ को दफा ५१, दफा ७६, दफा ८० र दफा ९२ अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म हुन्छ ।

संघले बजेट निर्माणलाई थप प्रभावकारी बनाउन बजेट निर्माणको पहिलो चरणमै संघसँग छलफल गर्न पनि अर्थमन्त्री पौडेललाई आग्रह गरेको छ । वित्तीय पारदर्शिता, राजस्व संकलन र राजस्वको उपयोगितामा थप विश्लेषण गर्न सकिने भन्दै अर्थ मन्त्रालय अन्तर्गतको बजेट महाशाखामा बसेर बजेटरी छलफल गर्ने व्यवस्था मिलाउन तथा संघीय सरकार अन्तर्गतका उद्योग, वाणिज्य, कर तथा राजस्वसम्बन्धी विभिन्न समिति, कार्यदलहरुमा चार्टर्ड एकाउन्टेन्ट्सकोे प्रतिनिधित्व हुने वातावरण निर्माण गर्नुपर्ने संघको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्