काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको प्रतिगमन सच्याउन नसकिने बताएका छन्। संसद विघटनपछि नेकपा अघोषित विभाजन भएको छ। नेकपाको प्रचण्ड-नेपाल पक्षले ओलीलाई अनुशासनको कारबाही गरेर अध्यक्षबाट हटाएको छ।
संसद विघटन विरुद्ध नेकपाले आन्दोलन थालेको छ। आन्दोलनको क्रममा विभिन्न विरोध सभामा प्रचण्ड-नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री ओलीले गल्ती स्वीकार गरेर माफी मागे पार्टीमा स्वागत गर्न तयार रहेको अभिव्यक्ति दिइरहेका छन्। सोही विषयतर्फ लक्षित गरेर डा. भट्टराईले ओलीले गल्ती स्वीकार गरे, आत्मालोचना गरे वा कान समातेमा पार्टी एकता सम्भव भए पनि प्रतिगमन सच्याउन नसकिने बताएका छन्।
हिट्लरको उदाहरण दिँदै उनले नेकपाले अहिले माफी दिने कुरा गरेर ओली प्रवृत्तिलाई स्थापित गर्न नहुने बताएका छन्। भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा ..पार्टी एकता हुनसक्छ, सँगै भात भान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है! हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठूलो भूमिका थियो भन्ने नबिर्सौं! इतिहास नदोहोरिओस्!’