संसद पुनस्थापनाको पछि नलागौं, व्यवस्थाको विकल्पमा जाऔंः नारायण शर्मा

Narayan_Sharma
  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका नेता नारायण शर्माले नेपालमा संसदीय सत्ता व्यवस्थाको विकल्प खोज्नु पर्ने बेला आएको बताएका छन्। दलाल तथा नोकरशाही पूँजीवादीहरूको भ्रष्ट संसदीय व्यवस्थाको विकल्पको खोजि गर्नु अति आवश्यक भएको नेता शर्माले बताएका छन्। उनले नेपालको मौलिक अन्तरिम सत्ता-व्यवस्थाको मोडेल निर्माण गर्नुपर्ने उनको भनाई छ।

भ्रष्ट संसदीय व्यवस्थाबाट मुक्त हुन मौलिक मोडेलको खोजि गर्नुपर्ने आएको उनले बताए। संसद पुनस्थापना भए अझै भाँडभैलो, भ्रष्टाचार र भागबण्डाको खेल जारी रहने भएकोले नेपाली जनतालाई त्यसबाट मुक्त गर्न विकल्पमा जानुपर्ने उनले बताए। नेता शर्माले अन्तरिम सदन, सरकार र सत्तामा को कस्ता शक्ति र व्यक्तिहरू अट्ने भन्ने कुरा बहसबाट नयाँ र व्यावहारिक व्यवस्थाको खोजि गर्न सकिने उनले बताए।

नेता शर्माको विचार जस्ताको त्यस्तैः

नेपालको वर्तमान संकट र यसको समाधानको निम्ति भनेर अब फेरि पनि उही मध्यावधि चुनाव गरेर देशको थप धनजनको क्षति गराउने वा पुरानै संसद पुनस्थापना गरेर अझै भाँडभैलो, भ्रष्टाचार र भागबण्डा गरेर अर्थात् पद, पावर, पैसा, पहुँच र प्रशंसाको लेनदेन गरेर जनता र राष्ट्रलाई शोषण-उत्पीडन गरी-गराई मर्नु न बाँच्नु गराउने हुँदै होइन। यदि साँच्चै यस्तो गर्ने-गराउने होइन भने आसन्न सदन/प्रतिनिधिसभाको विकल्पमा सर्वोच्च र सर्वशक्ति सम्पन्न अन्तरिम सदन/सभा, वर्तमान भ्रष्ट, दुष्ट र निकृष्ट ओली सरकारको विकल्पमा संयुक्त र स्वच्छ अन्तरिम सरकार र वर्तमान दलाल तथा नोकरशाही पूँजीवादीहरूको भ्रष्ट संसदीय सत्ता-व्यवस्थाको विकल्पमा नेपालको मौलिक अन्तरिम सत्ता-व्यवस्थाको मोडेल निर्माण गरी यी तीन वटा अंगहरूको समुचित सञ्चालन गरेर अघि बढ्नु जरुरी छ। यस्ता अन्तरिम सदन, सरकार र सत्तामा को कस्ता शक्ति र व्यक्तिहरू अट्ने भन्ने कुरा बहस, संघर्ष र आन्दोलनको प्रक्रियामा ती शक्ति-व्यक्तिहरूले खेलेको भूमिकाबाटै छिनोफानो गर्नु नै बढीभन्दा बढी व्यावहारिक र वैज्ञानिक हुन्छ।

देश र जनताका आधारभूत समस्याहरू दसबर्षे भीषण माओवादी जनयुद्ध र ऐतिहासिक झापा विद्रोहबाट आएका शक्तिहरूको वर्चस्व रहेको वर्तमान प्रतिनिधिसभा (सदन), त्यसद्वारा निर्मित ओली सरकार र तिनैद्वारा स्वीकृत र सञ्चालित संसदीय संघीय शासन सत्ताबाट समाधान हुनुको साटो यसरी दिनानुदिन बल्झँदै र बढ्दै गएर झन्झन् बदमासी, विकृति र विसंगतिपूर्ण विचार, व्यवहारका कारण ती समस्याहरू जटिलतम र गम्भीरतम बन्दै गरेबाट आज देश चरम संकटमा परेको छ र जनतामा परम असन्तुष्टि, आक्रोश र आक्रमणका भावहरू भड्किरहेका छन्। र, देशले यिनको विकल्पमा नयाँ र क्रान्तिकारी विकल्पको खोजी गरिरहेको छ। यदि समयमै नयाँ, सही र अग्रगामी विकल्प दिइएन भने भयंकर ठूलो विस्फोट र विद्रोह हुने सुनिश्चित छ, जसले अग्रगमन र क्रान्ति त के कति हुने हो त्यो भन्न सकिन्न तर जनधनको भने असीमित क्षति हुने कुरामा शंका छैन।

त्यसैले त्यही सरल, सहज, र समयानुकूल विकल्प दिने सन्दर्भमा हाललाई काम चलाऊ अस्थायी विकल्पको रूपमा एक अन्तरिम सदन, अन्तरिम सरकार र अन्तरिम विधि-व्यवस्थासहितको सत्ताको चर्चा चलिरहेको छ। अनि त्यस्तो अन्तरिम सदन, सरकार र सत्तामा सहभागी हुनु-गराउनु पर्नेहरू को कस्ता शक्ति-व्यक्तिहरू होलान् त भन्ने अडकल र छलफल पनि भइरहेका छन्। यसै दौरानमा लागेको कुरा के छ भने यस्तो अन्तरिम सभा, अन्तरिम सरकार र अन्तरिम सत्ता-व्यवस्थामा
किसान, मजदुर, सिपाही (प्रहरी, सेना, सशस्त्र शक्ति), बुद्धिजीवी (स्वतन्त्र र प्रतिबद्ध अर्थात् संघसंस्था, संगठन र ब्युरोक्रेसीमा आबद्ध समेत), निम्न-मध्यम-राष्ट्रिय पूँजीपति वर्ग वा ती वर्गमा पर्ने सच्चा देशभक्त, लोकतन्त्र/गणतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी, कम्युनिस्ट नागरिक समाज आदि शक्ति-समूह, संघ-संस्था, मञ्च-मोर्चा, संगठन-समुदाय, पेसा-व्यवसायमार्फत देश, जनता र क्रान्तिको लागि स्वच्छ सेवा र सतत संघर्ष गरिरहेका व्यक्ती/व्यक्तित्वहरूको सद्भाव, समर्थन, सहयोग, सहभागिता र स्वामित्व हुनुपर्दछ।

अर्को शब्द र अर्थमा भन्ने हो भने अब बन्ने अन्तरिम सदन, अन्तरिम सरकार र अन्तरिम सत्ता/व्यवस्थाका सञ्चालक-परिचालकहरु राष्ट्र र राष्ट्रिय स्वाधीनता पक्षधर, जनता र जनतन्त्र/लोकतन्त्र पक्षधर, अग्रगमन र परिवर्तनका अभियन्ता, न्याय-समानताका हिमायती, स्वाभिमानी-स्वतन्त्रताप्रेमी र स्वच्छ-सदाचारी चिन्तन र चरित्रका शक्ति-संगठन, संघसंस्था र संस्कृति-प्रवृत्तिका व्यक्तित्व-नेतृत्वहरु हुनुपर्ने देखिन्छ।

संक्षिप्तमा भन्नु पर्दा वर्तमान सत्ताबाट भए गरेका राष्ट्रघाती, जनघाती र परिवर्तन घाती कार्यहरूका विरुद्धको संघर्ष-अभियानमा स्वतन्त्र वा संगठित रूपमा, एकल वा संयुक्त मोर्चा मार्फत संलग्न, सम्बद्ध र संघर्षरतहरू नै वर्तमान संसदीय शासन-व्यवस्था र त्यसका अंगहरू मुख्यतः सदन, सरकार र सत्ताका विकल्पमा बन्ने-बनाइने नयाँ अन्तरिम सदन-सभा (जनप्रतिनिधि सभा/व्यवस्थापिका), अन्तरिम सरकार र अन्तरिम सत्ता-व्यवस्थाका स्टेकहोल्डर वा हकदार हुनेछन् ! तसर्थ आउनुहोस्, त्यस्ता सबै हकदारहरू नेपालको वर्तमान र भविष्यका समेत संकट मोचनका लागि एक बृहत् संयुक्त मोर्चा बनाएर निर्णायक संघर्षमा जुटौं। र, नेपाल र नेपाली जनमनमा दीर्घकालीन रूपमा न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र समृद्धिसहितको शान्ति, सहिष्णुता र सुख सन्तोषको ग्यारेन्टी गरौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्