ओलीले अब जनताको अधिकार खोस्छन्ः राजेन्द्र महतो

Rajendra-Mahato
  • 154
    Shares
लोकपाटी न्यूज

जनकपुर। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद् विघटन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्। शनिवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा नेता महतोले आफ्नो कुर्सी बचाउन ओलीले संविधानको हत्या गरेको बताए। संघीयतालाई धरापमा पार्न संविधानलाई अकालमा मृत्युमा धकेलेको उनको आरोप छ।

उनले भने, ‘जनताको रक्तरञ्जित संविधानमाथि टेकेर बनेको जनप्रतिनिधिहरूको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी खतरामा रहेको देखेर अकाल मृत्युको घोषणा गर्नु निन्दनीय छ।’ महतोले प्रधानमन्त्री ओली जनताको अधिकार खोस्न तल्लीन रहेको आरोप लगाए। प्रधानमन्त्री ओलीले सरकार गठन भएको तीन वर्षसम्म विकासको नाममा सिन्को नभाँचेको आरोप लगाए।

महतोले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी कार्य यसअघि पनि राजा महराजदेखि तत्कालीन एमाले, नेपाली काँग्रेसले सत्ता शासन टिकाउन कयौँ पटक गरिसकेको बताए। तर ओलीको यो प्रतिगमन पहिलाको प्रतिगमनभन्दा कयौँ गुणा ठुलै प्रतिगमन भएको महतोको आरोप छ। महतोले प्रधानमन्त्री ओलीलाई जनताको अधिकार खोस्न, प्रतिगमन गर्नबाट फुर्सद नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्