ओलीलाई बाबुरामको आग्रहः अदालतलाई धम्क्याउने काम बन्द गर्नुहोस्

Baburam_Bhattarai
  • 601
    Shares
लोकपाटी न्यूज

विराटनगर। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारले चुनाव नगराउने दाबी गरेका छन्। विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै डा. भट्टराईले दुई तिहाइको सरकार ढालेर आफै हार्ने चुनाव ओलीले नगराउने दाबी गरे।

मुसालाई पासोमा पसाउन राखेको ललिपप जस्तै ओलीले पनि अलमल्याउन र दलहरूलाई फसाउन चुनावको पासो थापेको भट्टराईले बताए। कम्वोडियामा चुनावको नाटक गरेर वर्षौंदेखि सत्ता कब्जा गरिरहेका हुन्सेनले जस्तै खालको चुनाव ओलीले गराउने भट्टराईले स्पष्ट पारे। ‘ओलीले कुनै हालतमा चुनाव गराउँदैनन्,’ भट्टराईले भने, ‘चुनाव गराईहाले पनि कम्वोडियाको हुन्सेनको जस्तो चुनाव गराउँछन्।’

भट्टराईले प्रतिनिधिसभा पुनस्थापना हुँदैन भन्दै हिँडेर ओलीले अदालतलाई धम्की दिइरहेको आरोप पनि लगाए। उनले प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको कदमले संविधानलाई कोमामा पुर्‍याएको बताए। ‘हुँदै नभएको अधिकार प्रयोग गरेर जसरी ओलीले कदम चाले त्यसले संविधानलाई कोमामा पुर्‍याएको छ,’ उनले भने, ‘सरकार बन्ने सम्भावना हुँदाहुँदै गरिएको विघटनलाई खारेज गरेर अदालतले संविधान जोगाउने थोरै विश्वास छ।’

उनले अगाडि भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनस्थापना हुँदैन भन्दै हिँडिरहनु भएको छ। यसरी पुनस्थापना हुँदैन भनेर ओली अदालत धम्क्याउने काम बन्द हुनुपर्छ।’ अदालतप्रति थोरै विश्वास रहेको भन्दै भट्टराईले यदि अदालतले प्रधानमन्त्रीको कदम खारेज नगरे सभामुखले प्रतिनिधि सभा बैठक बोलाउनु पर्ने पनि बताए।

उनले दुई छिमेकी मुलकले प्रधानमन्त्री ओलीलाई बोक्न खोजेको त होइन भन्ने प्रश्न पनि गरेका छन्। प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख र विघटनपछि चिनियाँ टोलीको नेपाल भ्रमणमा आएकाले शंका उत्पन्न भएको उनले बताए। ‘उत्तर र दक्षिणबाट मान्छेहरु आए, के उनीहरु चियाँ खाएर गफ गर्न आएका होलान ? केपी ओलीसँग चिया मात्रै खाएर गए होलान ?,’ उनले भने, ‘धेरै कुरा आइसकेका छैन, तर दालमे कुछ काला हे भने झै शंका गर्ने ठाउँ छ।’

उनले अघि भने, ‘दक्षिण र उत्तरका मित्रहरुलाई म आग्रह गर्न चाहन्छु, हिजो महेन्द्रहरुलाई ३० वर्ष बोक्नुभयो। ज्ञानेन्द्रलाई पनि बोक्नुभयो। अहिले केपी ओली जस्तो निरंकुश प्रवृति भएको मान्छेलाई पनि बोकेर यो देशमा अशान्ति ल्याउन खोज्नु भएको हो ?’ भट्टराईले हिटलर प्रवृतिका ओलीलाई छिमेकीले समर्थन गर्न नमिल्ने बताए। आफूहरु सबै छिमेकीसँग असल सम्बन्ध राख्ने पक्षमा रहेको भन्दै उनले भने, ‘छिमेकमा आगो लाग्दा तपाईँको घरमा पनि नसल्किएला भन्न सकिन्न।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्