ओलीलाई नेपालबाटै लखेट्ने अवस्था बन्न सक्छः देउवा

Sher_Bahadur_Deuba
  • 14.9K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतभन्दा ठूलो जनता भएको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरे पनि मान्नुपर्ने बताए।

अदालतमा विचाराधिन मुद्दामा जुलुस निकालेर दबाब सिर्जना गर्न नहुने उनको भनाइ छ। जुलुसको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्‍याई संवैधानिक मूल्य र मान्यताअनुसार निर्णय गर्ने उनले बताए। ‘प्रधानमन्त्री ओलीको कदम संविधान विरोधी नै हो। यो कदमको निन्दा जति गरेपनि पुग्दैन,’ देउवाले भने ।

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उनको भनाइ छ। निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्ने पनि देउवाले बताए। उनले निर्वाचन भयो भने निर्वाचनमा जान कांग्रेस तयार रहनुपर्ने धारणा राखे।

जनतामा जाँदा केही नबिग्रिने भन्दै देउवाले सर्वोच्च अदालतभन्दा ‘ठूलो अदालत’ जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने उनको भनाइ थियो। ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो। त्यो कसैले भुल्न हुँदैन। कांग्रेस जनतामा जान डराउँदैन र अहिले जनतामा जाँदा के बिग्रन्छ र ?’ देउवाले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्