ओली कुन दिन पतन हुन्छन्, कसैलाई थाहा छैनः माधव नेपाल

madhav-nepal
  • 250
    Shares
लोकपाटी न्यूज

जनकपुर। नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्योधनको संज्ञा दिएका छन्। शनिबार सिरहामा आयोजित कार्यक्रममा नेपालले दुर्योधन र भष्मासुर प्रवृतिको ओलीले कतिबेला कसलाई भस्म गर्छन् भन्ने ठेगान नभएको बताए।

उनले भने, ‘केपी ओली दुर्योधन जस्तै हुन्। युधिष्ठर भएपछि धर्मको शासन हुन्छ तर दुर्योधनको शासन भएपछि पूरा वंशकै नाश हुन्छ। केपी ओलीको भस्मासुर प्रवृति हो, कहिले कसलाई भस्म गर्छन् थाहा छैन।’ प्रधानमन्त्री ओलीबाट समाजवाद नआउने उनले दावी गरे।

ओली पूँजीवादीको बाटोमा हिँडिरहेको भन्दै उनले ओलीले कम्युनिष्ट आन्दोलन बिर्सेको आरोप लगाए। उनले भने, ‘डोनाल्ड ट्रम्पले चुनाव हारेपछि सत्ता कब्जा गर्न खोजेपछि उनीमाथि महाअभियोग लाग्ने भयो त्यस्तै ओली संसद विघटन गरेका छन्। संसद विघटन गरेपछि उनी पनि कामचलाउ सरकार हो। कुन दिन उनी झर्छन् कसैलाई थाहा छैन।’

नेपालले ओली घमण्ड, दम्भ, झुटको अर्को नाम भएको टिप्पणी समेत गरे। ‘नेकपा आफूसँग रहेको भनेर उहाँ झुट बोल्दै हिँड्नु भएको छ। बहुमत सदस्य हामीसँग छ अनि पार्टीको लेगेसी कसरी अरुसँग हुन्छ ?’ उनले प्रश्न गरे। नेपालले चार सय ४१ जनाको केन्द्रीय समितिमा साढे तीन सय जना सदस्य आफूसँग रहेको दाबी गरे।

उनले भने, ‘बहुमत प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्य हामीसँग हुँदा पनि प्रधानमन्त्रीले झुठ बोल्दै हिँडिरह्नु भएको छ।’ १ सय ७३ जना प्रतिनिधिसभा सदस्य मध्ये ९५ जना आफूहरुसँग रहेको उनले दाबी गरे।‘साढे तीन सय सदस्य जोसँग छन् पार्टी उनको हुने कि एक सयवालाको हुने ? ‘नेकपा हामी साढे तीन सय वालाकै पार्टी हो, एक सयवालाको होइन। बहुमत हामीसँग छ। ओलीसँग घमण्ड, दम्भ र झुट छ,’ उनले भने।

पार्टीको नीति, निर्णय, विधान संविधान मनाउन धेरै पर्यास गर्दा पनि पार नलागेपछि ओलीलाई पार्टीबाट अलग्याउन बाध्य भएको नेपालले दाबी गरे। ओलीले आफूलाई घेराबन्दी गरे, काम गर्न दिएनन् भनेर प्रचार गरिरहेको उल्लेख गर्दै नेपालले त्यो सबै झुटा र भ्रम मात्र भएको बताए। ‘राम्रो काम गर्नेलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘यो झुटको पुलिन्दा पस्केर जनतामा भ्रम पार्ने प्रयास मात्र हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्