विश्वप्रकाश शर्माले केपी ओलीलाई पठाए संविधान

  • 62
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पठाएका छन्। शर्माले प्रेस युनियन काठमाडौं अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान पार्सल पठाएका हुन्। पार्सलका साथमा राजु सदा, सूर्यबहादुर तामाङ र निर्मला पन्तको तस्बिर पनि पठाइएको छ।

प्रतिनिधिसभा विघटन संविधान सम्मत रहेको जिकिर गर्दै ओलीले शुक्रबार धनगढीमा संविधान पढ्न सुझाएका थिए। जवाफमा व्यंग्यास्वरुप शर्माले ओलीलाई संविधान पार्सल पठाएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधसभा विघटन भएसँगै व्यंग्यास्वरुप संविधान पठाउने क्रम जारी छ। यसअघि कांग्रेस सांसद रमेशजंग रायमाझीले पनि राष्ट्रियसभा अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधान पठाएका थिए।

धनगढीमा शुक्रबार भएको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवा पक्राउ परेका थिए। ओेलीले अभिव्यक्ति स्वतन्त्रासमेत हनन् गर्ने प्रयास गरेको भन्दै शर्माले ‘निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू’ भन्दै प्रश्न गरेका थिए। अध्यक्ष दुलालले आइतबार हुलाकमार्फत संविधान र तस्वीरहरू ओलीलाई पठाउने जानकारी दिए।

कांग्रेस प्रवक्ता शर्माले मदन भण्डारीले बोकाएको बहुदलीय जनबादको झोला कहाँ लगेर बिसाएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरे। ‘मदन भण्डारीले बोकाउनुभएको बहुदलीय जनवादको झोला तपाईंले कुन खोलामा बिसाउनुभयो?,’ उनले भने, ‘माओवादको रूपान्तरण जरूरी थियो तर प्रचण्डलाई रातो बरमाला पहिर्‍याउँदै गर्दा मदन भण्डारीको जबजलाई सेतो कात्रो ओढाइदिनुभयो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्