ओलीसँग वामदेवकाे बार्गेनिङ : कार्यकारी अध्यक्ष दिन ओलीले मानेनन्

Bamdev Gautam ---23
  • 356
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए। दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ ?

नेकपाको दुवै पक्षका दोस्रो तहका नेताहरु सकेसम्म पार्टी एक बनाउनुपर्ने, चुनावमा जाने स्थिति आउँदा पनि गठबन्धन बनाएर जान सकिन्छ कि भन्ने छलफलमा छन्। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल कै इच्छा र सहमतिमा उनीहरुले छलफल अघि बढाएको ती नेताहरुको भनाइ छ। ‘यो एकदमै प्रारम्भिक चरण हो,’ एकताका लागि छलफल गरिरहेका एक नेताले भने, ‘संसद् विघटनको निर्णय सर्वोच्चबाट सदर हुने र वैशाखमै निर्वाचन हुने अवस्थामा यो सम्भावना छैन।’

संसद् विघटन हुनेबित्तिकै नेपाल आएर चार दिन यहाँको माहौल बुझेर गएको चिनियाँ विशेष टोलीले पनि सकेसम्म एकता र नभए पनि वाम गठबन्धन गरेर अघि बढ्न नेताहरुलाई सुझाव दिएको थियो।

ओली निटक स्रोतका अनुसार गौतम पार्टी एकताको अभियानमा रहेका भनिएका सदस्यहरुसहित ढिलोचाँडो ओली पक्षमै जान्छन्। ‘उहाँलाई कार्यकारी अध्यक्ष बनाऔँ भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मानिरहनुभएको छैन,’ ती स्थायी समिति सदस्यले भने, ‘धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा वामदेवजी हुनुहुन्छ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्