प्रभु साहको प्रदेश भेलाभन्दा महानगर भेलामा उपस्थिति दोब्बर

  • 10.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संसद् विघटनसँगै विभाजित भएको नेकपा नेता कार्यकर्ता पङ्क्तिमा नयाँ समीकरणका लागि समूह फेरबदलको प्रयास भइरहेको छ। नयाँ समीकरणको असर केन्द्र, प्रदेश र जिल्ला हुँदै वडा तहसम्म पुगेको छ। कानूनी रूपमा आधिकारिक विभाजन भइनसके पनि प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षबीच आफ्नो पक्षमा कार्यकर्ता तान्ने अभियान भने तीव्र भएको छ।

विभाजित नेकपाभित्र अल्पमत-बहुमतको खेल जारी छ। दुवै समूहले आफ्नै पकड भएको दाबी गरिरहेका छन्। अहिले प्रदेश सरकारमा अल्पमत-बहुमतको खेल केन्द्रित छ। यही खेल अन्तर्गत मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस भइरहेका छन्। यद्यपि विभाजित नेकपाका नेता कार्यकर्ताले आफ्नो पक्षमा बहुमत जुटाउने तयारीलाई तीव्रता दिन थालेका छन्।

बहुमत जुटाउने खेलमा अहिले नेकपाका दुवै समूहले आफू निकट नेताहरूको भेला गरिरहेका छन्। प्रधानमन्त्री केपी ओली शक्ति प्रदर्शनको क्रममा देश दौडाहामा निस्किसकेका छन्। प्रचण्ड-नेपाल पक्ष भने संसद् विघटन विरुद्ध देशभर आन्दोलनका कार्यक्रम लिएर सडकमा निस्किएको छ। देशका विभिन्न ठाउँमा आयोजित हुने कार्यक्रममार्फत आफ्नो शक्ति देखाउने प्रयास जारी छ।

तर समुदाय स्तरमा प्रभाव राख्ने नेकपा कार्यकर्ताको ठूलो हिस्सा जता सूर्य चिह्न उतै समर्थन गर्ने मानसिकताका साथ पर्ख र हेरको अवस्थामा देखिएका छन्। जिल्लाबाट पार्टीको माथिल्ला पदमा रहेकाहरूले भने कित्ता क्लियर गरिसकेका छन्। केन्द्रस्तरका सबैजसो नेताहरूले आफ्नो कित्ता क्लियर गरिसके पनि जिल्ला कमिटी र पालिकास्तरका धेरैजसो नेता-कार्यकर्ताहरू पार्टी आधिकारिकताको पर्खाइमा रहेका छन्। यद्यपि केही प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू भने आफ्नो गुटमै खुलेरै लाग्न थालेका छन्।

यही क्रममा प्रदेश २ मा विभाजित नेकपाले आयोजना गरेको दुई कार्यक्रमको चर्चा अहिले पार्टीभित्र भइरहेको छ। ओलीले संसद् भङ्ग गरेपछि चर्को स्वरमा विरोध गरिरहेका तर मन्त्री पद पाएपछि संसद् विघटनको समर्थन गर्न पुगेका नेता प्रभु साह उपस्थित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला र प्रचण्ड-नेपाल पक्षका रहबर अन्सारी उपस्थित वीरगन्ज महानगरको भेलाको विषयले चर्चा पाएको हो। एकीकृत नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका साह र नेकपा स्थानीय तहको कमिटीको नेतृत्व गरिरहेका अन्सारीको भेलामा कति नेता कार्यकर्ताको उपस्थितिले आम नेता कार्यकर्ताको ध्यान तानेको हो।

रहबर अन्सारी उपस्थित कार्यक्रममा उपस्थित नेकपा नेता, कार्यकर्ता तथा सदस्यहरु

पार्टी केन्द्रीय कमिटी देखि स्थानीय कमिटीसम्म प्रचण्ड-नेपाल पक्षको बहुमत रही आएको सो समूहले दाबी गरेको छ। ओली समूहले पनि सोही दाबी प्रस्तुत गर्दै आएको छ। त्यसैले पनि उक्त भेलाले पार्टी र जनस्तरमा बढी महत्त्व राख्ने नेताहरू बताउँछन्। केही समयअघि प्रभु साह उपस्थित कार्यक्रममा भन्दा शनिवार आयोजित रहबर अन्सारी उपस्थित महानगरको भेलामा नेता कार्यकर्ता तथा सदस्यहरूको उपस्थिति दोब्बर रहेपछि सबैको ध्यान त्यतातिर तानिएको हो।

प्रभु साह उपस्थित प्रदेश स्तरको भेला भन्दा अन्सारी उपस्थित महानगरको भेलामा दोब्बर कार्यकर्ता तथा सदस्यको उपस्थित रहेपछि यसको चर्चा देश व्यापी हुन थालेको हो। दुवै समूहले देश व्यापी शक्ति प्रदर्शन गरिरहेको बेला आयोजित एक केन्द्रीय नेता र स्थानीय नेताको शक्तिले पार्टीमा ठूलो अर्थ राख्ने नेकपाका एक नेताको भनाई छ। यसले सिंगो पार्टीका सदस्यहरूलाई धारणा बनाउन सहयोग पुग्ने ती नेताको भनाई छ।

रहबर अन्सारी उपस्थित कार्यक्रममा उपस्थित नेकपा नेता, कार्यकर्ता तथा सदस्यहरु

विधि, विधान र सामूहिक नेतृत्व प्रणाली मार्फत चल्ने एक कम्युनिस्ट पार्टीमा व्यक्तिवादी प्रवृत्तिलाई लाद्ने नेतृत्वलाई आम नेकपाका सदस्यहरूले अस्वीकार गरेको यो भन्दा ठूलो प्रमाण अरू नहुने नेताहरूको बुझाइ छ। पूर्व माओवादीतर्फका नेता साह अहिले मन्त्री पद पाएपछि आफ्नो वैचारिक इमान बेचेर ओली समूहमा पुगेका छन्। जनता र पार्टीको विकास भन्दा पदको लोभमा राजनीतिक गर्ने नेता साह र उनका नेता ओलीलाई स्थानीय कमिटीमा रहेर काम गरिरहेका अन्सारीको लोकप्रियताले ठूलो झापड दिएको सुनिन थालेको छ।

अन्सारीको यो झापडले देश भरका नेकपाका सदस्यहरूलाई कुन पक्षमा आफू लाग्ने भन्ने धारणा बनाउन सहज हुने राजनीति विश्लेषकको टिप्पणी छ। यसले कस्तो नेता छान्दा कस्तो परिणाम आउँछ भन्ने पाठ सिकाउने पनि उनीहरुको भनाई छ। र गलत बाटोमा रहेको नेतृत्वलाई आफूलाई सच्चाउन दबाब दिने पनि विश्लेषकको दाबी छ।

प्रभु साह उपस्थित कार्यक्रममा उपस्थित नेकपा नेता, कार्यकर्ता तथा सदस्यहरु
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्