राष्ट्रियसभामा सांसदहरुले गरे प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

KP_Rastriya
  • 3.6K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभा सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गरेका छन्। कामचलाउ सरकारका प्रधानमन्त्री ओली बैठक स्थल प्रवेश गरेपछि नेकपा प्रचण्ड-माधव पक्षका राष्ट्रियसभा सांसदहरुले राष्ट्रियसभा बैठक बहिष्कार गरेका हुन्।

एक घण्टा ३८ मिनेट चलेको बैठकमा शुरुमै प्रधानमन्त्री ओली सहभागी भएका थिए। ओली बैठक हलमा प्रवेश गरेपछि प्रचण्ड-माधव पक्षका सांसदहरु बाहिरिए। ‘हामी हस्ताक्षर गरेर फर्कियौं। हामी निस्कने र उहाँ प्रवेश गर्ने एकैपटक भयो’, सांसद बेदुराम भुसालले भने।

उनले प्रधानमन्त्री ओलीको भाषण सुनिरहन आवश्यक नठानेर बाहिरिएको बताए। ‘हामीलाई उहाँ (ओली) को भाषण सुन्न पनि मन लागेन र आवश्यक पनि ठानेनौँ,’ भुसालले भने, ‘त्यसैले प्रधानमन्त्री बैठकस्थल प्रवेश गर्दै गर्दा हामी बाहिर निस्क्यो।’

भुसालले २३ जना सांसदहरुले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरेको बताए। गएको पुस १७ मा शुरू भएको राष्ट्रियसभा बैठक दश दिनमै सकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्