आयल निगम प्रविधिमैत्री, जनमुखी र नमूना संस्था बनाएका छाैं : निर्देशक पौडेल

Surendra Paudel
  • 15
    Shares
लोकपाटी न्यूज

आइतबार आयोजित नेपाल आयल निगमको ५१ औं वार्षिकोत्सवमा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलद्वारा व्यक्त मन्तव्यको पूर्णपाठ।

नेपाल आयल निगमले आफ्नो निरन्तर सेवाको ५० वर्ष पूरा गरी ५१ औं वर्ष प्रवेशको अवसरमा आयोजित समारोहलाई गरिमा प्रदान गर्न पाल्नु भएका माननीय मन्त्रीज्यू, माननीय राज्यमन्त्रीज्यू, लगायत समस्त गन्यमान्य व्यक्तिहरुलाई हार्दिक स्वागत गर्दछु। विश्वव्यापी रुपमा फैलिएको COvid-19 संक्रमणको कारणबाट यस कार्यक्रम भर्चुअल रुपमा आयोजना गरिएको जानकारी गराउन चाहन्छु।

विश्व अर्थव्यवस्थामा भएको संरचनात्मक परिवर्तनसँगै नेपाल आयल निगमले विभिन्न चुनौतिहरुलाई अवसरको रुपमा सदुपयोग गर्दै गत वर्षमै स्वर्णजयन्ती मनाई ५१ औं वर्षमा प्रवेश गरेको छ। पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार प्राप्त नाफामूलक व्यवसायिक यस संस्थाले आफ्नो व्यवसायिक उत्तरदायित्वलाई पूर्ण रुपमा पालना गर्दै राज्यको आर्थिक मार्गचित्रलाई ध्यानमा राखी सेवामूलक संस्थाको रुपमा समेत आफ्नो स्थापनाकालदेखि नै भूमिका निर्वाह गर्दै आएको छ। गौरवपूर्ण इतिहास बोकेको यस संस्थाले समयको हरेक आरोह अवरोहसँगै थुप्रै प्राकृतिक तथा आर्थिक संकटको सामना गरेतापनि लक्ष्य प्राप्तिमा रत्तिभर बिचलित नभई सदैव उद्धेश्य प्राप्तिमा निगम अघि बढ्दै आएको छ।

गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रुपमा आपूर्तिद्वारा नेपाली जनताको जीवनलाई सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य हो। पूर्वाधारमा भइरहेको तिव्र विकासले गर्दा पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अङ्कको दरले बृद्धि हुँदै गरेकोले माग र आपूर्तिबिच तालमेल कायम गर्न सञ्चयका लागि भण्डारणहरुको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गर्दै जाने नीतिस्वरुप यसै आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं. प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारण गृहको निर्माण र बिस्तार तथा झापा र धनुषामा ग्याँस बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति जस्ता कार्यको शुभारम्भ गरी पूर्वाधार विकासमा विशेष जोड दिइएको छ। हाल सञ्चालनमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत् पेट्रोल समेतको आयात गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ।

Janarel Assembly

सूचना तथा प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै प्रविधिमैत्री कार्यप्रणालीको विकासमा जोड दिँदै कागजविहिन कार्यालय सञ्चालन, प्रत्यक्ष गुनासो व्यवस्थापन, कार्यप्रणालीमा पारदर्शिता र सूचनामा सरोकारवालको पहुँचलाई अभिबृद्धि गर्दै सुशासन कायम गर्ने प्रयास, कार्य सम्पादनमा आधारित दण्ड पुरस्कार तथा कार्य क्षमतामा आधारित जिम्मेवारी कर्मचारीको बृत्ति विकासलाई वस्तुनिष्ठ र अनुमानयोग्य वनाउन क्षमता विकास तालिम तथा उच्च अध्ययनको अवसरलाई कार्यान्वयनमा ल्याई मानव संशाधन विकासमा जोड दिइएको छ।

मेकानिकल लकिंगबाट डिजिटल लकिंग, टैंक–टकहरुको नियमित अनुगमन, डिलरहरुको डिजिटल नक्शांकन गर्ने कार्यको सुरुवात गरिएको छ। निगमको सबै कार्यलाई व्यवस्थित बनाउन Enterprises Resources Planning Software (ERP) कार्यान्वयनमा ल्याउने कार्य तथा वित्तीय बिवरणहरु Nepal Financial Reporting Standards (NFRS) अनुसार तयार गर्ने कार्यको सुरुवात गरिएको छ। निगमको केन्द्रीय प्रयोगशाला लगायत अन्य प्रयोगशालाहरुलाई ISO/IEC 17025 Accreditation गराई अन्तर्राष्ट्रियस्तर बमोजिम कायम गर्ने गरी आवश्यक कार्यको प्रारम्भ गरिएको छ।

यहि माघ १ गतेदेखि निगमको देशभर रहेका सम्पूर्ण कार्यालयहरुको CCTV Surveillance System तथा विद्युतीय हाजिरी प्रणालीलाई Centrally Synchronization/Integration गरी निगमले तयार गर्दै गरेको ERP Software Modules मा समाहित गर्ने तयारी सम्पन्न भएको छ।

नेपालका बौद्धिक केन्द्रहरु त्रिभुवन तथा काठमाडाैं विश्वविद्यालयहरुसँग सहकार्य गर्दै निगमलाई आवश्यक पर्ने विविध विषयको प्राविधिक अध्ययन एवं अनुसन्धानका क्षेत्रहरुमा आवश्यक सम्झौता गरी प्रक्रिया अघि बढाइएको छ। पेट्रोलियम पाइपलाइन सञ्चालनबाट असर पर्ने टंैक–ट्रकहरुलाई न्यायोचित रुपमा सञ्चालनका लागि समायोजनको प्रक्रिया अवलम्बन गरिने व्यहोरा जानकारी गराउन चाहन्छु।

पेट्रोलियम पाइपलाइनमार्फत् हाल डिजल मात्र आयात भइरहेको परिप्रेक्ष्यमा अबको २ वर्षभित्र पाइपलाइनबाट पेट्रोलसमेत ल्याउने तयारी गरिएको छ। एल.पी. ग्याँसको ढुवानीका लागि इण्डियन आयल कर्पोरेशनको बितरण केन्द्रलाई नेपाली सीमा नजिकको लोकेशनबाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्यको थालनी गरिएको छ। थप पाइपलाइन क्षमताको बिस्तार तथा मौजुदा संरचनाबाटै डिजलको सम्पूर्ण आयात सम्भव भएसम्म पाइपलाइनमार्फत् मात्रै गर्ने व्यवस्था मिलाइनेछ।

Janarel Assembly-2

नेपाल आयल निगम यस प्रकारको अग्रगमनतर्फ लम्किरहनुमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सञ्चालक समितिले दिएको सकारात्मक निर्देशनले मार्गदर्शन प्रदान गरिरहेको छ। साथै निगमको लक्ष्य र उद्येश्यलाई पूरा गर्न÷गराउन कर्मचारीहरुको भूमिकालाई बिर्सनु हुँदैन।

यसका लागि निगम व्यवस्थापन हार्दिक आभार व्यक्त गर्दछ। पेट्रोलियम पदार्थको कारोबारमा प्रत्यक्ष एवं निरन्तर सहयोग पुर्‍याउँदै आएका निगमका बिक्रेता तथा ढुवानी व्यवसायीहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। समयानुकूल र वैज्ञानिक पद्धतिमार्फत निगमका सम्पूर्ण बिक्रेता तथा ढुवानीकर्ताहरुको सञ्चालन खर्चलाई लगानीको अनुपातमा प्रतिफल प्राप्त हुने गरी समयसापेक्ष बनाउने कार्यको थालनी गरिएको र यस सम्बन्धमा सरोकारवाला निकायहरुबाट समय समयमा पेश भएको मागपत्रहरुको उचित सम्बोधन गरिने व्यहोरा अवगत गराउन चाहन्छु।

विश्वव्यापी रुपमा फैलिएको Covid-19 संक्रमणको समयमा समेत निगमका कर्मचारीहरु तथा सरोकारवाला निकायः नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन, निगमको आधिकारिक बिक्रेताहरु, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा पेट्रोलियम पदार्थको ढुवानीमा संलग्न व्यवसायीहरु, नेपाल एल.पी ग्यास उद्योग संघ, नेपाल एल.पी ग्याँस बिक्रेता महासंघ, तथा पेट्रोलियम क्षेत्रमा कार्यरत समस्त मजदुरहरुले उच्च मनोवलका साथ निगमको लक्ष्य प्राप्तिमा प्रतिवद्ध भई अहोरात्र खटी सहयोग पुर्‍याउनुभएकोमा सम्पूर्ण सरोकारवालाहरुको अभिभावकत्वलाई अझ सुदृढ बनाउने विश्वास दिलाउँदै सकारात्मक, रचनात्मक र सहयोगी भावनाको प्रशंसा गर्दछु। साथै Covid-19 संक्रमणको कारण संक्रमित हुनुभएका निगमका कर्मचारीहरुको पूर्ण स्वास्थ्य लाभको कामना गर्दे सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्