काठमाडौं । सानिमा क्यापिटलले रू.१ अर्ब बराबरको सानिमा लार्ज क्याप फण्ड सञ्चालन गर्ने भएको छ।
उक्त फण्ड सञ्चालनका लागि क्यापिटलले माघ ९ गतेदेखि १० करोड इकाई विक्री खुला गर्न लागेको हो । प्रतिइकाई रू. १० अंकित दरको कुल इकाईमध्ये १५ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंक र कोष व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।
छिटोमा माघ १३ र ढिलोमा माघ २६ गतेसम्म विक्री खुला हुने यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म खरीदको माग गर्न सकिनेछ । सानिमा क्यापिटलले सञ्चालन गर्न लागेको उक्त योजना बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले सात वर्षमा उक्त योजना परिपक्व हुनेछ ।
इकाई खरीदको लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरोशेयर सफ्टवेयर र मेरोशेयर एपबाट आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।