प्रदेश सरकार जोगाउन ओलीले बनाए यस्तो रणनीति

PM_KP_OLI
  • 487
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रदेश सरकार जोगाउन ओली समूहले अन्य पार्टीहरूसँग सहयोग लिने नीति लिएको छ। केपी ओली नेतृत्वको नेकपाले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिर सहयोग लिने नीति उल्लेख गरेको छ।

पार्टी बाहिरका शक्तिसँग सहयोग आदनप्रदान गर्ने भने पनि कोसँग कसरी गर्ने भनेर अपानीमा उल्लेख छैन। यसका लागि आवश्यकता अनुसार पार्टी केन्द्रमा परामर्श लिने समेत अपानीमा भनिएको छ। नेकपामा फुटपछि प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावले संघीयताप्रति जनताको विश्वास टुट्ने र संघीयता विरोधीलाई उत्साहित पार्ने काम गर्ने चिन्ता पनि अपानिमा व्यक्त गरिएको छ।

‘प्रदेशहरूको विशिष्ट परिस्थितिअनुरुप प्रदेश सरकारको रक्षाका लागि पार्टीभित्र र बाहिरका सकारात्मक पात्र र शक्तिसंग आवश्यकताअनुसार समन्वय, परामर्श र सहयोग आदान प्रदान गर्ने। आवश्यकता अनुसार पार्टी केन्द्रमा परामर्श लिने,’ अपानिमा उल्लेख छ।

केन्द्रमा प्रधानमन्त्रीलाई घेराबन्दी गर्दै काममा अवरोध खडा गर्ने साथीहरू यतिबेला कतिपय प्रदेशमा मुख्यमन्त्रीहरूविरूद्ध अविश्वास प्रस्ताव राख्दै अस्थिरता सिर्जना गर्न उद्यत् रहेको अपानीमा भनिएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी चार प्रदेशमा ओली समूहका मुख्यमन्त्री छन्। तीमध्ये प्रदेश १ र बागमती प्रदेशमा प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएका छन्।

प्रतिनिधिसभा विघटनपछि पार्टी जटिल अवस्थामा आइपुगेको अपानिमा उल्लेख छ। ‘कम्युनिस्ट आन्दोलनभित्रको एउटा अवसरवादी, महत्वाकांक्षी र स्वार्थकेन्द्रित प्रवृत्तिका कारण निर्धारित समय अगावै प्रतिनिधिसभा विघटन हुने, नयाँ निर्वाचनमा जानु पर्ने र कम्युनिस्ट पार्टी एकीकरणको काम पुरा नहुँदै विभाजनको संघारमा उभिने जटिल अवस्था सिर्जना भएको छ,’ अपानिमा भनिएको छ।

ओलीले कुनै पनि कमिटीमा प्रचण्ड-नेपाल समूहका व्यक्ति अध्यक्ष भए हटाउन समेत निर्देशन दिएका छन्। ‘कमिटीका अध्यक्ष यस अभियानको पक्षधर नभएको ठाउँमा सचिव भए उहाँको अगुवाइमा, अन्यथा पार्टीका जेष्ठ या वरिष्ठ सदस्यको अध्यक्षतामा बैठक बसी पार्टी कामलाई गतिशील बनाउन,’ अपानिमा भनिएको छ, ‘एक तहमाथिको कमिटी वा संयोजक कमरेडको निर्देशनमा भावी नेतृत्वका बारेमा आवश्यक निर्णय लिने।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्