संसद विघटनपछि ओलीको शक्ति समाप्त भयोः जनार्दन शर्मा

Janardan sharma
  • 883
    Shares
लोकपाटी न्यूज

सुर्खेत। नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले कर्णाली प्रदेश सरकार पुनर्गठन हुने बताएका छन्। सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले प्रदेश सरकार गठन गर्दा दलितलगायत अन्य समुदायको प्रतिनिधित्व छुटेकोले गम्भीर त्रुटि भएको बताएका हुन्।

उनले उक्त त्रुटि चाँडै सच्याइने बताए। जनसंख्याअनुसार कर्णाली सरकारमा दलित समुदायको प्रतिनिधित्व गराइने उनले बताए। शर्मा भने, ‘योग्यभित्रका पनि उपयुक्त व्यक्तिलाई ल्याउँछौं।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डा हल्लाएर हिँड्नु जनतालाई भ्रममा पार्नलाई मात्र भएको टिप्पाणी गरे।

प्रतिनिधिसभा विघटनकै दिन प्रधानमन्त्री ओलीको शक्ति ह्रास भएको समेत नेता शर्माले बताए। उनले ओलीको शक्ति ह्रास भएको ओरोप मात्र नभइ सत्य र तथ्य भएको दाबी गरे। नेता शर्माले जनताले संयुक्त मोर्चा निर्माण गरेर राष्ट्रलाई बचाउने जिम्मेवारी लिनुपर्ने पनि बताए। अहिले वृहत मोर्चा निर्माण गरेर अघि बढ्नु विकल्प नरहेको उनको भनाई छ।

‘अर्काको स्वामित्व स्वीकार्न नगर्नेलाई परास्त गरी नयाँ किसिमले जानुपर्छ,’ उनले भने, ‘अनि एकले अर्काको स्वामित्व र सहअस्तित्व स्वीकार गर्ने गरेर संसद पुनस्थापना गरौं।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमले मुलुकलाई अध्याँरोतिर धकेलेको टिप्पणी गरे। प्रधानमन्त्री ओलीले संविधानमै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको शर्माले आरोप लगाए।

प्रधानमन्त्रीले मनलाग्दी गरेको र अब त्यसविरुध्द लड्नुको विकल्प नरहेको शर्माले बताए। दुई पार्टीबीच एकता गर्नु सही कदम भए पनि अहिले प्रधानमन्त्रीले भ्रम छरेको बताए। ‘उहाँहरूले गठन गरेको पार्टी निर्वाचन आयोगले अस्वीकार गरिसक्यो ’ उनले भने, ‘त्यसैले केन्द्रमा नेकपा एउटै पार्टी छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्