केपी ओली तानाशाही हो भन्छन्, त्यस्तै हो त ? : पोखरेल

Shankar-Pokhrel
  • 144
    Shares
लोकपाटी न्यूज

नेपालगन्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको गतिमा गति मिलाएर संसद आफ्नो भूमिकामा प्रभावकारी ढंगले हिड्न नसकेका कारण संसद विघटनको अवस्था आएको बताएका छन्। जनताबाट अनुमोदित भएको प्रधानमन्त्रीलाई बीचमा हटाउन खोज्दाको परिणाम स्वरुप संसद विघटन भएको कुरालाई सबैले बुझ्न जरुरी रहेको पोखरेलको दाबी छ।

बाँकेमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हामी त्यो चिजलाई बदल्न चाहन्छौं, जनताबाट जितेका प्रतिनिधीहरु इमान्दार हुनुपर्छ र उनीहरु विकास निर्माणको कामप्रति, स्थायित्वप्रति इमान्दार बन्नुपर्छ भन्ने कुराको सन्देश दिनका लागि हामी ताजा जनादेशमा जादैछौं।’ उनले संसद सभा विघटन भएपनि जनताका अधिकार यथावत रहेको बताए।

‘कतिपयले के भन्ने गर्छन् प्रतिनिधि सभाको विघटन भनेको निरंकुशता हो, यो तानाशाही हो, आदी इत्यादी प्रकारका टिप्पणी गर्ने गर्छन्,’ पोखरेलले भने ‘यो मुलुकमा जनताका कुनै अधिकार खोसिएको छैन, कुनै संवैधानिक अंगहरु निलम्बनमा परेका छैनन्, संविधानको कुनै धारा निलम्बनमा परेको छैन, मात्रै के भएको हो भन्दाखेरी पाँच वर्षका लागि चुनिएका सांसदहरु तीन वर्षमै जनताका बीचमा आउनु परेको हो।’

यो प्रक्रियाले नेपालको राजनीतिको दिशा बदल्ने मुख्यमन्त्री पोखरेलको जिकिर छ। अझैपनि नेपालको राजनीतिमा कुर्सीका लागि अलमलिने एक खालको दुश्चक्र कायम रहेको भन्दै उनले त्यो दुश्चक्रलाई तोडेर अबको चुनाव पछाडि पाँच वर्षसम्म निर्वाध रुपमा नेतृत्वलाई काम गर्न दिनुपर्छ भन्ने कुराको मान्यता स्थापित गर्न आफुहरु सफल हुने उनले दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्