काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान वुलेटिनअनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। योक्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले जनाएको छ। वर्षासँगै देशका विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
पौष २८ गते (मंगलबार)
दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरोको सम्भावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २९ गते (बुधबार)
दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भू-भागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका भू(भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १ गते (बिहीबार)
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।