राजा महेन्द्र जस्तै केपी ओली प्रायोजित राष्ट्रवादी हुन्ः डा. भट्टराई

Baburam-Bhattarai
  • 652
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाललाई परनिर्भरतामा फसाउन देशी विदेशी शक्ति केन्द्रहरू योजनाबद्ध रूपमा लागेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई महान् राष्ट्रवादीको ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भइरहेको भट्टराईले बताएका हुन्।

उनले ओलीलाई राजा महेन्द्रलाई झैँ प्रायोजित राष्ट्रवादी देशलाई निरंकुशता, अल्पविकसित र परनिर्भरतामा फसाइने षड्यन्त्र भएको बताए। देशी विदेशी शक्तिकेन्द्रले २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाइएको स्मरण गर्दै उनले अहिले फेरि ओलीमार्फत सोही षड्यन्त्र भइरहेको बताएका हुन्।

‘ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैँ महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकसित/पर निर्भरतामा फसाइनेछ! चेतना भया!’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तर्वार्तामा लिएर उनको राष्ट्रवादको चर्चा भइरहेका बेला डा. भट्टराईले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि डा. भट्टराईले ओलीको कदमको चर्को आलोचना गर्दै आएका छन्।

प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगमनकारी भएको भन्दै नेकपा, काँग्रेस जसपा लगायतका दलहरूले सडक संघर्ष गरिरहेका छन्।