सेयर कारोबारीले नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने

  • 30
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। धितोपत्र व्यवसायी (सेयर कारोबारी)हरुले नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउनुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले सेयर बजार सम्बद्ध सबै पक्षको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।

बोर्डले सोमबार विज्ञप्ती जारी गर्दै सो रकमबाट धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ ।

‘केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा १ प्रतिशत रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको छ’, विज्ञप्तीमा भनिएको छ ।

लगानीकर्ताका लागि धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गर्दा लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगेर एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको तथा दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख शहरबाट कारोवार गर्न सक्ने व्यवस्था भएका कारण बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्दै गएकोले यस्तो शिषा प्रभावकारी हुने बोर्डको भनाई छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्