प्रचण्डसँग हारेपछि ओलीले तानशाह बन्ने सपना बोकेः उपेन्द्र यादव

Upendra Yadav
  • 16.4K
    Shares
लोकपाटी न्यूज

वीरगन्ज। जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने सपना देखिरहेको आरोप लगाएका छन्। वीरगन्जमा मङगलबार आयोजित पत्रकार भेटघाटमा यादवले आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना देखिरहेको बताएका हुन्।

ओलीको नियत चुनाव गराउने नभइ सबै निकाय आफनो कब्जामा लिएर तानाशाह बन्ने रहेको यादवको भनाइ थियो। उनले भने, ‘ यो राजनीतिक संकटमा चुनाव हुनै सक्दैन। यदि जबरजस्ती चुनाव गराइयो भने पनि त्यो चुनावको वैधानिकता र विश्वनीयता नै हुँदैन। पूर्वराजा ज्ञानेन्द्रले गराएको जस्तो चुनावको कुनै अर्थ रहदैन।’

ओलीले बैशाखमा गर्ने भनेको चुनाव कुनै पनि हालतमा हुनै नसक्ने ठोकुवा उनको छ। उनले संसद विघटनाको असंवैधानिक कदम ढाकछोप गर्न प्रम ओलीले चुनावको प्रोपोगण्डा ल्याएको बताए। उनले अदालतबाट संसद पुर्नस्थापनाको निर्णय सदर भएर बैशाखमा चुनाव भएको खण्डमा उक्त चुनावमा जसपाले भाग लिने वा नलिने भन्ने सञ्चारकर्मीको प्रश्नमा भने खुलेर जवाफ दिएनन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री ओलीले नेपाललाई बाहिरी (विदेशी )शक्तिहरुको चलखेल गर्ने खेल मैदान बनाउने वातावरण बनाइ दिएको आरोप लगाए। उनले भने, ‘ नेपालको राजनीतिमा नेपालीकै निर्णायक भूमीका रहनुपर्छ , तर ओलीले योजनावद्धरुपमा बाहिरी शक्तिलाई खेल्ने वातावरण बनाइ दिएकाछन् , जुन नेपाल र नेपालीको हितमा छैन।’

ओलीको असंवैधानिक कदमले देशभित्रकै प्रतिगमनकारी शक्तिहरुको अघोषित साँठगाँठ रहेकाले अहिले लोकतन्त्र खतरामा परेको यादवले बताए । लोकतन्त्र , गणतन्त्र र संघीयताको रक्षाका लागि सबै लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरु एकजुट भएर प्रतिगमनकारी कदमलाई खारेज गराउनु नै आजको आवश्यकता रहेको यादवले बताए।

उनले नेपाली काँग्रेस पनि अन्तत लोकतन्त्रकै पक्षमा उभिने जिकिर पनि गरे। संघीय प्रेस फोरम पर्साका अध्यक्ष आर के पटेलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा जसपाका कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सुनिल रोहित , विघटित प्रतिनिधिसभाका सदस्यद्वय प्रदीप यादव र हरिनारायण रौनीयार, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवलगायतको पनि उपस्थिती थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्