बिटक्वाइन भनेको एउटा डिजिटल मुद्रा हो । जसको निर्माण र सञ्चालन विद्युतीय रूपले हुन्छ । यो दुनियाँमा प्रयोग भएका कम्प्युटरले गरेको गणितीय समस्याको समाधानबाट उत्पादित मुद्रा हो । जसको उत्पादन हुने प्रक्रियालाई हामी ‘माइनिङ’ पनि भन्छौं ।
यो एउटा यस्तो मुद्रा हो जुन कुनै देशबाट सञ्चालित होइन । र, यसमाथि कुनै देश तथा व्यक्तिको कुनै पनि किसिमको नियन्त्रण हुँदैन । त्यसकारण यो साधारण मुद्राभन्दा फरक छ।
‘सेतोसी नाकामोटो’ नामक सफ्टवेयर डेभलपरद्वारा यसको प्रस्तावना गरिएको हो । जुन एउटा गणितीय प्रमाणका आधारको पेमेन्ट गर्ने प्रणाली हो । यो प्रस्तुत गर्नुको मूल कारण एउटा यस्तो मुद्रा सञ्चालनमा ल्याउनुथियो, जसमाथि कसैको नियन्त्रण नहोस् । र, कमसेकम शुल्क तिरेर कारोबार गर्न पाइयोस् ।
यसको छपाइ तथा वितरण कसैले गर्दैन । यो मुद्राको कुनै पनि किसिमको बैंक वित्तीय संस्था तथा देशबाट भौतिक रूपमा छपाइ तथा वितरण हुँदैन । यो हामी मानिसको समुदयाबीच डिजिटल प्रक्रियाबाट उत्पादित मुद्रा हो । जुन समुदायमा जो कोही पनि आबद्घ हुन सक्छन् । बिटक्वाइन माइनिङ भनेको एउटा गणितीय समस्याको समाधान गर्ने प्रक्रियालाई बुझाउँछ ।
के यो असीमित मात्रामा उत्पादन गर्न सकिन्छ ? होइन । दुनियाँभरमा गरी २,१०,००,००० बिटक्वाइन मात्र उत्पादन गर्न सकिन्छ । जसमध्ये हालसम्म १,४०,००,००० भइसकेको छ । र, अरू माइनिङ हुने प्रक्रिया जारी छ । एक बिटक्वाइनलाई १० करोड हिस्सामा भाग गर्दा आउने एक भागलाई ‘सेतोसी’ भनिन्छ । त्यसले बिटक्वाइनको आविष्कारकको नामलाई जनाउँछ ।
साधारणतः प्रयोग हुने मुद्राहरू सुन तथा चाँदीमा आधारित छन् । जसको मतलब हामी कुनै पनि मुद्रा बैंकमा जमा गर्दा त्यसबराबरको सुन तथा चाँदी प्राप्त गर्न सक्छौं । तर, बिटक्वाइन सुन तथा चाँदीमा आधारित नभएर यो एउटा गणितीय प्रक्रियामा आधारित हो । दुनियाँभरमा मानिस सफ्टवेयरका मद्दतले गणितीय सूत्रको प्रयोग गरी यसको उत्पादन गर्छन् । जुन सूत्रहरू जो कोहीले पनि हेर्न सक्छन्, जसलाई हामी ओपन सोर्स पनि भन्छौं ।
कसरी काम गर्छ?
जसरी तपाईंले पैसा राख्न बैंकमा खाता खोल्नुहुन्छ, त्यस्तै यसका लागि पनि एउटा बिटक्वाइन एकाउन्ट खोल्नुपर्दछ। जसलाई बिटक्वाइन वालेट भनिन्छ। यसमा तपाईंको एकाउन्ट नम्बर र डिजिटल सिग्नेचर हुने गर्छ।
संसारमा जति पनि बिटक्वाइनका प्रयोगकर्ता हुन्छन्, सबैको कारोबार एउटा लेजरमा राखिएको हुन्छ। त्यसमा तपाईंको नाम र जम्मा रहेको बिटक्वाइन हुन्छ। मानौं श्याम भन्ने मान्छेले रामलाई १ बिटक्वाइन पठायो भने संसारका सबै बिटक्वाइन प्रयोगकर्ताको लेजरबाट श्यामको खाता बाट १ बिटक्वाइन घटेको र रामको खातामा १ बिटक्वाइन बढेको तुरुन्तै देख्न सकिन्छ। यसले गर्दा कुनै मान्छेले एउटै बिटक्वाइन २ जनालाई पठाउन पाउँदैन। कुनै २ व्यक्तिबीच बिटक्वाइनको कारोबार हुँदा सो कारोबार सही हो होइन, सो कारोबार गर्ने व्यक्ति आधिकारिक हो होइन भनेर जाँच्नका लागि बिटक्वाइन माइनर (अत्याधुनिक कम्प्युटर) प्रयोग गरिएको हुन्छ। यसले दुई व्यक्तिबीचको कारोबारलाई प्रमाणित गर्ने काम गर्छ। सो कारोबार प्रमाणित भएसँगै बिटक्वाइनको कारोबार सम्पन्न हुन्छ।
कसरी कमाउनेरखर्च गर्ने?
बिटक्वाइनलाई कमाउने तथा खर्च गर्ने उपाय धेरै छन्। तपाईं आफ्नो खातामा बिटक्वाइन थप्न सक्नुहुन्छ, यसका लागि अरु बिटक्वाइन प्रयोगकर्ताबाट पैसा तथा कुनै सामानबाट साट्न सक्नुहुन्छ। कुनै सामान खरिद गर्न तपाईंले बिटक्वाइनको प्रयोग गर्न सक्नुहुन्छ।
बिटक्वाइन कमाउने सबैभन्दा उत्तम तरिका भनेको तपाईंले आफ्नै बिटक्वाइन माइनर (अत्याधुनिक कम्प्युटर) खरिद गरेर सञ्चालन गर्नु हो। कसैले बिटक्वाइनको कारोबार गर्दैछ भने सो कारोबारलाई प्रमाणित गर्नका लागि सम्बन्धित कारोबारको एउटा जटिल गणितीय हिसाब हल गर्नुपर्ने हुन्छ। त्यो अत्याधुनिक कम्प्युटरले मात्रै क्षमता राख्दछ। त्यस्ता अत्याधुनिक कम्प्युटरले धेरै विद्युत खपत गर्ने गर्छ। तपाईंको बिटक्वाइन माइनरले कसैको बिटक्वाइन कारोबार प्रमाणित गरेबापत केही बिटक्वाइन कमाइ गर्नुहुनेछ।
यो कानुनसम्मत कि गैरकानुनी?
बिटक्वाइनका केही सबल पक्ष हुँदाहुँदै पनि यसका केही चुनौती पनि छन्। बिटक्वाइनको कारोबार नियन्त्रण गर्ने कुनै निकाय नहुँदा यसको प्रयोग धेरैजसो गैर कानुनी काम जस्तै: कर छली, सम्पती शुद्धीकरण, आतंकवादी तथा ह्याकिङ गतिविधि भइरहेको छ। जसले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर देखिन जान्छ। त्यसैले संसारका धेरै देशमा बिटक्वाइनको कारोबार गैरकानुनी मानिन्छ भने युएस, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियन जस्ता देशमा भने यसको कारोबार कानुनसम्मत मानिन्छ।
नेपालमा राष्ट्र बैंकले गैरकानुनी घोषित गरेको छ। यो यस्तो व्यवसाय हो जसमा अत्यधिक जोखिम हुन्छ साथसाथै अत्यधिक मुनाफा पनि। हाल १ बिटक्वाइनको बजार मूल्य लगभग ११ हजार डलर रहेको छ। यसको मूल्य स्थिर नभई निकै तलमाथि हुने गरेको छ।
कसरी सुरु भयो?
सन् २००९ तिर सातोशी नाकामोतोले यो सफ्टवेर लन्च गरेको जनाइन्छ जसलाई सुरुमा अनलाइन गेम खेल्न प्रयोग गरीन्थ्यो केही समयपछि यसको प्रयोग अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरुले गर्न थाले । बिस्तारै कागजी नोटको साटो यस्तो मुद्रा प्रयोग गर्न थाले र बिटक्वाइन सञ्चित गर्न थाले । त्यसपछि बजारमा यसको माग बढ्दै गयो र यसले विश्वव्यापी रुपमा मुद्रको रुप लियो ।
बिटक्वाइनका फाइदा र नोक्सानी ?
बाजारमा बिटक्वाइन बाहेक पनि अन्य क्रिप्टो करेन्सी उपलब्ध छन् जसको प्रयोग आजभोली निकै हुन थालेको छ । जस्तै – रेड क्वाइन, सिया क्वाइन, सिस्कोइन, वाइस क्वाइन र मोनरो । क्रिप्टो करेन्सीका थुप्रै फाइदा रहेका छन् । सबै भन्दा धेरै फाइदा भनेको, यो डिजिटल मुद्रा भएको कारण यहाँ ठगिको सम्भावना कम हुन्छ ।
क्रिप्टो करेन्सीमा रिटर्न मतलब फाइदा धरै हुन्छ र अनलाइन लेन-देनमा सजिलो पनि हुन्छ ।
क्रिप्टो करेन्सीको लागि कुनै नियम बनाउने संस्था छैन त्यसैले नोटबन्दी वा मुद्रा अवमूल्यन जस्तो स्थितिमा पनि यसमा कुनै प्रभाव हुँदैन । तर बिटक्वाइन जस्तो भर्चुअल मुद्रामा ठुलो तल-माथी हुने र समस्या दिन सक्ने हुन्छ ।
पछिल्लो पाँच वर्षमा बिटक्वाइन एक दिनमा बिना कुनै सुचना ४० देखि ५० प्रतिशतसम्म गिरावट भएको बताइन्छ । सन् २०१३ अप्रिलमा भएको गिरावट निकै ठुलो थियो, एकै रातमा बिटक्वाइनको मुल्यमा ७० प्रतिशत कम हुँदै दुई सय ३३ डलर बाट ६७ डलर पुगेको थियो ।
अमेरिकी शेयर बाजार वाल स्ट्रीटले सावधानी गराउँदा पनि त्याँहा बिटक्वाइनको लेन-देन जारी राख्न अनुमति दिईएको छ तर घाटाको सम्भावना सधै बनिरहेको हुन्छ ।
यसको सबै भन्दा ठुलो घाटा भनेको यो भर्चुअल मुद्रा हो र लेनदेनको व्यापार निकै चुनौतिपूर्ण हुन्छ । यस मुद्राको प्रयोग ड्रग्स सप्लाई र हतियारको गैरकानुनी व्यापार र किनबेच जस्तो अवैध कामको लागि गरिन्छ । यसमा साइबर आक्रमणको खतरा पनि सधै रहन्छ तर विशेषज्ञको अनुसार ब्ल्याक चेनलाई ह्याक गर्न सजिलो हुँदैन ।