ओलीले सत्ता र शक्तिको आडमा धम्काउन थालेः प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज
0 Shares

पोखरा। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता र शक्तिको प्रयोग गरेर मानिसहरूलाई धम्काउने, तर्साउने तथा पार्टी एकताको मर्म र भावनामाथि प्रहार गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीबाट भइरहेको बताएका छन्। पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले यस्तो कार्य बन्द गर्न आग्रह गरे।

उनले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी पनि दिए। प्रचण्डले भने, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई। तपाईँले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ तपाईँले? हजारौँ सहिदहरूको बलिदान, त्याग र तपस्यालाई ठट्टा ठान्नुभएको छ?’

उनले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताए। प्रचण्डले माधव नेपाललाई पञ्चायत विरोधी आन्दोलनबाटै चिनेको बताए। ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर,’ उनले भने।

प्रचण्डले माधव नेपाल ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको समेत बताए। गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै उनले भने, ‘केपी ओलीको उद्देश्य इमानदारिताको रहेनछ। नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ।’

प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताए। ‘म माधवको पक्षमा गएकै हो। त्यसो भनेर के बिग्रन्छ ? माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा। एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो,’ उनले भने। आफूहरू जालझेल गर्नेको पक्षमा नरहेको पनि उनले बताए। तर, ओलीले भने पार्टी एकता पछि बसेको पहिलो स्थायी कमिटी बैठकबाटै घच्याकघुच्चुक गर्न थालेको बताए।

माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए। वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि प्रचण्डले बताए। ‘एकताको प्रस्ताव लिएर म गएको हो, केपी ओली आएको होइन तपाईँहरूलाई प्रस्ट होओस्,’ प्रचण्डले भने। तर, ओलीले झुट बोल्ने गरेको प्रचण्डले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्