बुद्धिजीवी संगठनहरुको अपील : प्रतिगमनविरुद्ध संयुक्त संघर्ष गरौं (विज्ञप्तिसहित)

intellectual
  • 1.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख राजनीतिक दलनिकटका बुद्धिजीवी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा बिघटन गर्ने सरकारको प्रतिगामी कदमका विरुद्ध साझा संघर्षमा होमिन सम्म्पूर्ण बुद्धिजीवीहरुमा अपील गरेका छन्। नेकपानिकट नेपाल बुद्धिजीवी संगठन, नेपाली कांग्रेसनिकट प्रजातान्त्रिक विचार समाज र जनता समाजवादी पार्टीनिकट नेपाल बौद्धिक पेशाकर्मी महासंघले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा बिघटनको विरोध गरेका हुन्।

संयुक्त विज्ञप्ति जारी गर्दै बुद्धिजीवीहरुले लोकतान्त्रिक विधि र प्रक्रियाका विपरित गरिने कुनै पनि कार्य बुद्धिजीवीहरुका लागि मान्य नहुने बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘‘लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक विधि, प्रक्रिया र संविधानप्रदत्त अधिकारको प्रयोगमार्फत् गर्नु राज्यका हरेक अंग र पदाधिकारीहरुको संवैधानिक र राजनीतिक जिम्मेवारी हो। तर, आफ्नो दलभित्रको आन्तरिक समस्यालाई कारण बनाएर लोकतान्त्रिक प्रणालीको बर्खिलाप र जनमत वा जनप्रतिनिधि संस्थालाई खण्डित गर्ने, संविधानमा हुँदै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमूलक संस्थाको बिघटन गर्ने, संस्थागत विकासको प्रक्रियामा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमाथि प्रहार गर्ने सरकारको कदमले लोकतन्त्र मात्र कमजोर भएको छैन, देश नै राजनीतिक र संवैधानिक अनिश्चयको भूमरिमा धकेलिएको छ। आन्तरिक समस्याको दण्ड जनप्रतिनिधि संस्था, जनमत र लोकतान्त्रिक प्रणालीलाई नै प्रहार गर्ने कार्य घोर निन्दनीय र भत्र्सनायोग्य छ।’’

विज्ञप्तिमा प्रतिनिधि सभा बिघटन असंवैधानिक भएको ठहर गरिएको छ। ‘‘नेपालको संविधानको धारा ७६ ले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाले उपधारा (१) देखि (६) सम्मका बिकल्पहरु प्रयोग गरिसक्दा पनि नयाँ सरकार दिन नसकेको परिस्थितिमा मात्र प्रतिनिधि सभा बिघटनको परिकल्पना गरेकोमा उल्लेखित कुनै पनि बिकल्पको परीक्षण र प्रयोग नगरी हठात् रुपमा गरिएको संसद बिघटनले सरकार असंवैधानिक, लोकतान्त्रिक र तानाशाही बाटो हिँड्न खोजेको प्रमाणित गर्दछ’’ विज्ञप्तिमा भनिएको छ।

बुद्धिजीवीहरुले सरकारको प्रतिगामी कदमका विरुद्ध एकतावद्ध भएर सहकार्य गर्न आफूमातहतका कमिटीहरुलाई पनि अपील गरेको छ। ‘‘सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध आ–आफ्नो ठाउँबाट खबरदारी र सहकार्य गर्न संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धिजीवीहरुमा हार्दिक अपील गर्दछौं’’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नेपाल बुद्धिजीवी संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी र नेपाल बौद्धिक पेशाकर्मी महासंघका अध्यक्ष कृष्ण शर्माले हस्ताक्षर गरेका छन्।

Joint statement Intellectual

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्