ओली कम्युनिस्ट होइनन्, सामन्ती हुन्ः नेपाल

Madhav_Nepal
  • 925
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिराएको बाटोबाट फर्कन आग्रह गरेका छन्। पोखरामा आयोजित कार्यक्रममा नेपालले ओलीलाई सच्चिन आग्रह गरे।

‘केपी ओलीजीले बाटो बिराउनुभएको छ। बिराएको बाटोबाट फर्कनुस्। समय यही हो। नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ,’ उनले भने, ‘संविधानमा यति ठुलो घात गर्नुभएको छ यसले तपाईंको पनि भलो गर्दैन। अहिले नै सच्चिनुस्। गल्ती स्वीकार गर्नुस्।’

नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नभएको बताए। ओलीमा एकलकाँटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरू केही नभएको उनले बताए। ‘ओलीलाई कम्युनिस्ट पार्टी त्यागेको रेडियोमा सुन्न बेर छैन। उहाँमा कम्युनिस्ट आचरण छैन,’ उनले भने।

उनले केपी ओलीले सिकाएको संस्कार समेत सर्वहारा संस्कार नभएर सामन्ती संस्कार भएको बताए। ‘उहाँलाई आलोचना, गुनासो र विरोध मन पर्दैन, आलोचना गर्ने मान्छे उहाँको दृष्टिकोणमा नकारात्मक हुन्छ’अध्यक्ष नेपालले ओली प्रवृत्तिको खरो आलोचना गरे।

पार्टी गुट र व्यक्तिबाट चल्ने नभई विचार र सिद्धान्तबाट चल्ने नेपालको भनाइ छ। ‘पार्टीमा बैठक नबस्ने, जनजीविकाको कुरा नै किन नहोस् छलफल हुनुपर्छ बहस हुनुपर्छ,’ उनले भने। आफूले ओलीलाई पटक पटक प्रधानमन्त्री हुँदा पार्टी बैठकमा बस्न नभ्याउने भए आफूहरू छलफल र बहस गर्छौ भन्दा पनि नसुन्ने गरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्