प्रधानमन्त्री बन्न केपी ओलीले जबज छोडेकै हुन्ः प्रचण्ड

Prachanda
  • 851
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको लाइन केपी ओलीले छोडेको जिकिर गरेका छन्। गण्डकी स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) माधवकुमार नेपालले नभएर ओलीले परित्याग गरेको दाबी गरेका हुन्।

उनले भने, ‘म प्रमाणका साथ भन्न सक्छु। पार्टी एकता, सरकारसम्बन्धी अन्तिम बैठक थियो। दुइटा पार्टीको लाइनका विषयमा लामो बहस भएको थियो। माधवजीले अहिले नै जबज छोड्दा राम्रो हुँदैन, कार्यक्रम राख्नुपर्छ कि भन्दै हुनुहुन्थ्यो। हामीले मानेनौं। अघि बढ्नका लागि साझा कार्यक्रम बनाउनुपर्छ भन्ने बहस भयो। अन्तिममा हामी दुई जनाको बस्यौं। जनताको बहुदलीय जनवाद छाडेर समाजवाद उन्मुख जनताको जनवादमा पहिलो हस्ताक्षर गरेको ओलीले नै हो।’

उनले ओलीले प्रधानमन्त्री पदका लागि ओलीले जबज छाडेको रहेछ भन्ने देखिएको पनि दाबी गरे। ओलीले पार्टीभित्र विवाद भयो भनेर सार्वभौम संसदमाथि प्रहार गरेको प्रचण्डको भनाइ छ। उनले भने, ‘पार्टी भित्र विवाद भयो भनेर सार्वभौम नेपाली जनताले चुनेर पठाएको सार्वभौम संसदमाथि प्रहार गर्ने कहीँ कतै हुन्छ त ? उहाँले यसको जवाफ दिन सक्ने ठाउँ नै छैन। कहीँ कतै बोल्ने ठाउँ नै छैन।’ उनले आधिकारिक नेकपा आफूहरू भएको दाबी गरेका छन्।

उनले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग रहेकाले पार्टीको नाम र सूर्य चिन्ह नपाउनेमा दुबिधा नपाल्न आग्रह गरे। उनले अहिलेको कानूनले स्वतः आधिकारिकता आफ्नो पक्षले पाउने र नपाएमा आँधीबेहरी ल्याउने चेतावनी दिए। ‘हिजो हामी निर्वाचन आयोगमा पुगेर आयौं। केपी ओलीका मान्छेले निर्वाचन आयोगले थर्काएर पठायो भनेर प्रचार गर्दै छन्,’ उनले भने, ‘हिजोको छलफल पछि हामी विश्वस्त भएका छौं। सूर्य हाम्रै हो। नेकपा हाम्रै हो।’

प्रचण्ड अहिले देखिएको पार्टी विभाजनको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबिचको लडाइँ भएको पनि बताए। उन भने, ‘यो लडाइँ जनताको पक्षमा जाने कि नजाने भन्ने लडाइँ हो, यो लडाइँ भनेको क्रान्ति र प्रतिक्रान्तिको बिचको लडाइँ हो। अहिले हाम्रो मुख्य लडाइँ भनेको एकता गर्दा तयार गरेको राजनीतिक प्रतिवेदनले अंगीकार गरेको विचार सिद्धान्तमा अडिग रहने कि छाड्ने भन्ने हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्