प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिने पत्रकारले भने : सगरमाथामा भारतले दाबी ठाेक्नुपर्छ

  • 201
    Shares
लाेकपाटी न्यूज

भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ । यो यही टोली हो जसलाई प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ताका लागि बालुवाटारमा न्यानो स्वागत गरेका थिए ।

भारतको नोयडास्थित स्टुडियोमा बसेर कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्ने जी न्युजको टोलीले सगरमाथामा दाबी प्रस्तुत गर्न भने सगरमाथा क्षेत्रमै पुग्ने अवसर पाएको छ । आश्चर्य के छ भने ५ कात्तिकमा ‘र’ प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्रसम्मको भ्रमण गराएको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भन्दै थिए–

मेरोअगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौँ । यो माउन्ट एभरेस्टको सबैभन्दा नजिकको बिन्दु हो । यसवेला हामी १७ हजार पाँच फिट उचाइमा छौँ । यस भागलाई कालापत्थर भन्छन् । यहाँ पछाडि हाम्रो हेलिकोप्टर छ । हामी हेलिकोप्टर लिएर यहाँ आयौँ । यो ठूलो कुरा हो । हामी यति उचाइमा छौँ कि मलाई सास फेर्न पनि कठिन भएको छ । हामी यहाँ बिल्कुलै एक्लै छौँ । हाम्रो आसपास अरू कोही छैन । म छु, मेरो क्यामरापर्सन छन् । हाम्रो पाइलट पनि छन् । तर, उनी हेलिकोप्टरमै छन् ।

‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु ।

म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।

यो माउन्ट एभरेस्ट आरोहण गर्ने दुई मार्ग छन्, एउटा नेपालको तर्फबाट, अर्को चीनतर्फबाट । खासमा तिब्बतबाट हो, तर तिब्बतलाई चीनले आफ्नो भनी दाबी गर्छ । त्यसैले यो शिखरभन्दा उतापट्टि चीनबाट पनि माउन्ट एभरेस्ट आरोहण गर्न सकिन्छ । यो बाटो पनि छँदै छ ।

आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ रु वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।

राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।

म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’

सुधीर चौधरीले कालापत्थरमा अचानक भावुक भएर यो कुरा बोलेका होइनन्, उनले यसका लागि दिल्लीबाटै नोट बोकेर आएका थिए । ठीक एक महिनाअघि २ डिसेम्बरमा स्टुडियोबाट यही दाबीसहित विस्तृत रिपोर्ट बजाएका थिए । उनी त्यही अभियानअन्तर्गत नेपाल आएको बुझिन्छ । उनले कालापत्थरबाट ‘पिस टु क्यामेरा’ मात्र दिएनन्, स्टुडियोमा फर्किएर यो रिपोर्टको अन्त्यमा फेरि पनि सगरमाथामा भारतीय दाबी दोहोर्याए ।

‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ ।

तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

यसरी नेपालका प्रधानमन्त्रीको अन्तर्वार्ता लिने भनेर नेपाल आमन्त्रण गरिएका भारतीय पत्रकारले सर्वोच्च शिखरमाथि नै दाबी प्रस्तुत गरेर नेपाली राष्ट्रियतालाई फेरि उद्वेलित गराएका छन् । यो विषय किन पनि गम्भीर छ भने जी न्युजको अन्यन्तै विवादापस्द पृष्ठभूमि हुँदाहुँदै पनि उनलाई देशका प्रधानमन्त्रीका सरकारी निवासमा न्यानो स्वागत गरिएको थियो ।

जी न्युजले नेपाली संवेदनशीलतामाथि निकै भद्दा आक्रमण गर्दै आएको छ । धेरै पहिले पनि होइन, ठ्याक्कै ६ महिनाअघि २६ असारमा भारतको जी च्यानलले एउटा रिपोर्ट प्रसारण गरेको थियो । जसमा नेपालका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबीचको कथित संवादमा यस्तो समेत उल्लेख थियो, ‘मैले मजाक गरेको होइन, म साँच्चै तपाईंको बारेमा सोच्छु । त्यसो त तपाईंलाई सत्तामा बलियोसँग टिकाउने एउटा प्लान मसँग छ ।’

‘म तपाईंको हरेक कुरा मान्न तयार छु । के हामी यो बातचित अझै अगाडि बढाउन सक्छौँ रु मेरो मतलब के हामी सँगै डिनर गर्न सक्छौँ रु’

‘हा। हा। हा।, म पनि तपाईंसँग केही पल बिताउन चाहन्छु, ता कि तपाईंको बारेमा थप जान्ने मौका पाइयोस् ।’

यो कपोलकल्पित र आपत्तिजनक रिपोर्टको सिंगो नेपालले एक स्वरले विरोध मात्र गरेको थिएन, नेपाली केबल टेलिभिजन प्रसारकहरूले जी न्युजको प्रसारणसमेत नेपालमा बन्द गरिदिएका थिए । तर, त्यही न्युज च्यानलको टोलीलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा स्वागत गरे । त्यसको बदलामा नेपाली राष्ट्रियता फेरि आहत भएको छ ।

सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान

सगरमाथामाथि भारतले दाबा गर्नुपर्छ भनेर सुधीर चौधरीले नेपाल आएका वेला अचानक भावनामा बगेर बोलेका होइनन् । उनी प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिने मात्र होइन, सगरमाथामाथि भारतले दाबा गर्नुपर्छ भन्ने प्रचार गर्ने उद्देश्यका साथ नेपाल आएका हुन् । उनले गत महिना मात्र ९२७ मंसिरमै० सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ नभएर माउन्ट राधानाथ सिकदर राख्नुपर्छ भनेर विशेष रिपोर्ट प्रसारण गरेका थिए । सो रिपोर्टमा सगरमाथाको उचाइ पत्ता लगाउने व्यक्ति जर्ज एभरेस्ट नभएर राधानाथ सिकदर भएका कारण उनकै नामबाट सगरमाथाको नामकरण गर्नुपर्ने उल्लेख छ । डिएनएको अनलाइनमा प्रकाशित भिडियोसमेतको रिपोर्टमा उनले भनेका छन्– सगरमाथाको नाममा माउन्ट एभरेस्ट नभएर माउन्ट राधानाथ सिकदर राख्नुपर्छ ।

चौधरीले भनेको के साँचो हो भने सगरमाथाको उचाइ जर्ज एभरेष्टले पत्ता लगाएको नभई राधानाथ सिकदरले नै पत्ता लगाएका थिए । तर, मापन गर्ने अधिकारी भारतीय भएकै काण यो शिखरमा भारतले दाबी गर्नुपर्छ भनेर उनले नेपालको राष्ट्रियतमाथि अर्को प्रहार गरेका छन् । यो गम्भीर किन छ भने उनलाई नेपालका प्रधानमन्त्रीले सरकारी निवासमा स्वागत पनि गरेका थिए ।

त्यसवेलासम्म कञ्चनजंघालाई विश्वको सबैभन्दा अग्लो हिमाल मानिन्थ्यो । तर, सन् १८३० देखि १८४३ सम्म सर्भे अफ इन्डियाका पूर्वमहानिर्देशक जर्ज एभरेस्टले भारत तथा नेपालका हिमालको उचाइ मापनको सुरुवात गरे । उनले बंगाली युवा गणितज्ञ राधानाथ सिकदरलाई सर्भे अफ इन्डियाको ‘कम्प्युटर’ पदमा नियुक्त गरेका थिए । एभरेस्टपछिका महानिर्देशक एन्ड्रयु वाले सगरमाथालगायतको मापनको काम सिकदरलाई दिए । उनले देहरादुनमा बसेर ट्राइगोनोमेट्रिक विधिबाट विभिन्न हिमालको उचाइ नाप्न थाले । कामका सिलसिलामा सगरमाथालाई ‘पिक १५’ नाम दिइएको थियो ।

सिकदरले सन् १८५२ मा पिक १५ को उचाइ आठ हजार आठ सय ३९ मिटर रहेको पत्ता लगाए र यसको जानकारी सर्भे अफ इन्डियालाई दिए । त्यसपछिका चार वर्ष महानिर्देशक वोले सिकदरको तथ्यांक जाँचे र अन्ततः पिक १५ को उचाइ २९ हजार दुई फिट रहेको घोषणा गरे, जुन सिकदरले पत्ता लगाएको उचाइभन्दा दुई फिट बढी थियो । उनै वोको प्रस्तावमा सन् १८६५ मा बेलायतको नेसनल जियोग्राफिकल सोसाइटीले सगरमाथाको नाम माउन्ट एभरेस्ट घोषणा गरेको हो ।

सर्भे अफ इन्डियाका बिएल गुलाटी नेतृत्वको टोलीले सन् १९५२ देखि १९५४ सम्मको अवधिमा गरेको सगरमाथाको उचाइ मापनका आधारमा पत्ता लागेको आठ हजार आठ सय ४८ मिटरलाई नेपाल, भारतसहित विश्वले नै मान्यता दिँदै आएको थियो । भारतले त्यसअघि नै सन् १८४७ मा गरेको मापनमा सगरमाथाको उचाइ आठ हजार सात सय ७८ र सन् १८५२ मा गरेको मापनमा आठ हजार आठ सय ४० मिटर भएको उल्लेख गरेको थियो । सर्भे अफ इन्डियाका अनुसार सन् १८८० र १९०२ को अध्ययनमा सगरमाथाको उचाइ आठ हजार आठ सय ८२ मिटर भएको उल्लेख गरेको थियो ।

सन् १९६६ देखि सन् १९६८ मा चीनले सगरमाथा मापन गर्दा आठ हजार आठ सय ५० मिटर देखिएको जनाएको थियो । चीनले सन् २००५ मा गरेको मापनमा भने आठ हजार हजार आठ सय ४४ दशमलव ४३ मिटर आएको भन्दै त्यसैलाई मान्यता दिँदै आएको थियो । उसले आरोहीलाई पनि आठ हजार आठ सय ४४ दशमलव ४३ मिटर उचाइको प्रमाणपत्र जारी गर्ने गरेको थियो ।

अमेरिकाले सन् १९९९ मा ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० र राडार प्रविधि प्रयोग गरेर सगरमाथाको उचाइ आठ हजार आठ सय ५० मिटर रहेको जनाएको थियो । सन् १९८७, १९९२ र २००४ मा गरी इटालीले तीनपटक र २०१० मा डेनमार्कले समेत सगरमाथाको उचाइ मापन गरेका थिए । ती सबै मापनमा फरक–फरक उचाइ गणना गरेका थिए । तर, ती कुनै पनि उचाइलाई नेपालले आधिकारिकता दिएको थिएन ।

नेपाल आफैँले भने पहिलोपटक हालै सगरमाथाको उचाइ मापन गरी घोषणासमेत गरेको छ । नेपालले गरेको मापनअनुसार यसको उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर रहेको पत्ता लागेको छ । चीनले पनि सँगसँगै सगरमाथाको उचाइ नापेको तथा उचाइ समान आएपछि दुवै देशले गत २३ मंसिरमा नयाँ उचाइ सार्वजनिक गरेका थिए । ०७२ को भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने भन्दै अन्तर्राष्ट्रियस्तरमा चर्चा चलेपछि नेपालले आफ्नै स्रोत उपयोग गरेर नापी गर्ने घोषणा गरेको थियो । नेपालले सन् २०१८ देखि सगरमाथाको नापसम्बन्धी सर्वेक्षण सुरु गरेको थियो ।

उचाइ नाप्न फरक–फरक विधि प्रयोग गरिन्छ । नेपालले मिश्रित विधि प्रयोग गरेको थियो । परम्परागत विधिअन्तर्गत समुद्री सतहबाट स्केलले नाप्दै जमिनकै बाटो हुँदै शिखरसम्म पुग्ने गरिन्छ । त्यससँगसँगै नेपालले ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम ९जिएनएसएस० विधि प्रयोग गरेर पनि उचाइको नाप लिइएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्