नमूना महानगर : यी हुन् भरतपुरमा सञ्चालित मुख्य आयोजनाहरु (सूचिसहित)

Renu Dahal-3
  • 1.5K
    Shares
लोकपाटी न्यूज

चितवन। चितवनको भरतपुर महानगर सातौँ नगरसभा सम्पन्न भएको छ। कोरोनाका कारण देशको आर्थिक अवस्था मजबुद हुन नसक्दा पनि भरतपुर महानगरले राम्रै राजश्व संकलन गर्न सफल भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्। यद्यपि गत वर्षको तुलनामा भरतपुर महानगरमा राजश्वमा कमी आएको छ।

भरतपुर महानगरको साताैं नगरसभामा नगर प्रमुख रेनु दाहालबाट भएको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुतिमा कोभिड १९ का कारण पनि राजश्व संकलनमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख छ । २०७७ साल पौष २३ गतेसम्म महानगरपालिको आन्तरिक राजश्व रु २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ संकलन भएको छ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४१ प्रतिशत अर्थात् रु ९८ लाख ३३ हजार ४३६ सय ४६ ले कमी भएको महानगर प्रमुख दाहालले बताइन्। उनका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को प्रभाव लगायतका कारण महानगरपालिकाको आन्तरिक आयमा केही कमी आएको छ। यद्यपि यस अवधिसम्मको आन्तरिक आयको तथ्याङ्कलाई विश्लेषण गर्दा निराशाजनक अवस्था नरहेको प्रमुख दाहालको भनाइ छ।

चालु आवको बाँकी अवधिमा लक्ष्यअनुसार राजश्व असुलीका लागि साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगत रूपमा कर शिक्षा र स्थलगत रूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्था जस्ता उपायहरू अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको प्रमुख दाहाल बताउँछिन्। करदातामैत्री प्रणाली विकासमार्फत् करको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ।

महानगर प्रमुख दाहालले नगर सभामा चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि कुल राजश्व रु ३ अर्ब ३१ करोड ६४ लाख ८९ हजारमध्ये आन्तरिक श्रोततर्फ रु ९० करोड अनुमान गरिएको जानकारी गराएकी थिइन्। उनका अनुसार उक्त आन्तरिक राजश्वका श्रोतका शीर्षकहरूमा मुख्य रूपमा घर वहाल करतर्फ रु ८ करोड, नक्सा पास दस्तुरतर्फ रु ७ करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ रु ४ करोड, व्यवसाय दस्तुरतर्फ रु ६ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ रु ७ करोड, अन्य क्षेत्र आय रु ४० करोड, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा रु ६ करोड ८० लाखसमेत गरी राजश्व प्रक्षेपण गरिएको थियो।

महानगरका दर्जनौँ आयोजना

भरतपुर महानगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको दर्जनौँ आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका छन्। महानगर प्रमुख रेनु दाहालले सातौँ नगरसभामा महानगरकै लगानीमा सञ्चालन भएका आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका जानकारी गराइन्। उनका अनुसार कोभिड १९ का कारण पनि ती आयोजनाहरुले निर्माणमा तीव्रता पाइरहेका छन्।

भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम, खानेपानी विस्तारका कार्यक्रमलगायतका दर्जनौं आयोजनाहरु निर्माणको अन्तिम चरणमा छन् भने कतिपय आयोजनाहरु निर्माण सम्पन्न भइसकेका छन्।

आफ्नो तीन वर्षको कार्यकालको समीक्षात्मक पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले महानगरकै लगानीमा दर्जनौँ आयोजनाहरु सञ्चालनमा रहेको बताइन्। उनले भनिन्, ‘कतिपय आयोजनाहरु अन्तिम चरणमा पुगेका छन्, बाँकी दुई वर्षको अवधिमा सबै आयोजनाहरु पूरा गर्ने लक्ष्यका साथ दौडिरहेका छौँ।’

महानगरद्वारा सञ्चालित आयोजनाहरु – भरतपुर महानगरपालिकाको आफ्नै योजना र लगानीमा दर्जनौं ठूला आयोजना सञ्चालन भइरहेका छन्। तीमध्ये मुख्य योजना यस्ता छन्।

भरतपुर मेट्रो प्लाजा

भरतपुर महानगरपालिका वडा नं. ३ मा महानगरको स्वामित्वमा रहेको करिव ११ कठ्ठा जग्गामा पीपीपी मोडेलमा बहुद्देश्यीय भवन निर्माणको प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ। निर्माण अवधि ३ वर्ष र सञ्चालन अवधि २७ वर्ष गरी जम्मा ३० वर्षको लागि निजी क्षेत्रलाई निर्माण सञ्चालन तथा हस्तान्तरण विधिबाट निर्माण हुने गरी आगामी १ महिनाभित्र सम्झौता गर्ने गरी तयारी कार्य भइरहेको छ।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

देशकै गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ। महानगरपालिकाको सक्रियतामा सञ्चालन भएको धनधान्यांचल महायज्ञको माध्यमबाट करिव रु ७० करोड रकम सङ्कलन गरेको तथा आन्तरिक स्रोतबाट यसै आवमा रु ४ करोड अनुदान स्वरूप उपलब्ध गराएको छ। क्रिकेट रङ्गशाला परिसरमा हालै राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी मैदान तयारी हुँदैछ। यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा लिइएको छ।

खानेपानी आयोजना

नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माण गरी खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न महानगरपालिकाको सहलगानीमा शारदानगर खानेपानी आयोजनाका लागि रु ६२ करोड, भरतपुर ११ को जखडीमाई खानेपानी आयोजनाका लागि रु ३७ करोड, दिव्यनगर खानेपानी आयोजनाका लागि रु २६ करोड, पार्वतीपुर खानेपानी आयोजनाको लागि रु १८ करोड, मेघौली खानेपानी आयोजनाको लागि रु १८ करोड, धनगढा खानेपानी आयोजनाका लागि रु २१ र गीतानगर खानेपानी आयोजनाका लागि रु छ करोड, दिव्यनगर खानेपानी आयोजनाको लागि रु तीन करोड ५० लाख, पटिहानी खानेपानी आयोजनाको लागि रु ६ करोड, देवनगर खानेपानी आयोजनाको लागि रू. ३ करोड ५० लाख, शिवनगर खानेपानी आयोजना रु १८ करोड, चौकीडाँडा खानेपानी (लिफ्टिङ्ग) आयोजना गरी २ अर्ब ४१ करोड भन्दाबढीका आयोजनाहरू सञ्चालनमा छन् भने केही आयोजनाहरू सम्पन्न भइसकेका छन्। यी सबै आयोजना सम्पन्न हुँदा भरतपुरको खानेपानी प्रणाली व्यवस्थित हुने अपेक्षा लिइएको महानगर प्रमुख रेनु दाहालले जानकारी गराइन्।

समुदायसँग मेयर कार्यक्रम

मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम साथै आर्थिक विपन्न छात्राहरूलाई साइकल वितरण र क्षमता विकासलगायतका कार्यक्रमका लागि कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको छ। झन्डै ३०० छात्राहरुलाई साइकल वितरण गरिसकिएको छ।

कृषिमा यान्त्रिकीकरण कार्यक्रम

सामूहिक खेतीतर्फ कृषकहरू आकर्षित गरी कृषि उत्पादनमा वृद्धि तथा रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापन हुने विश्वास लिइएको यस कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि तयार भएको छ। यसअन्तर्गत कृषकलाई कृषि उपकरण उपलब्ध गराउने लगायतका कार्यक्रमहरू रहेका छन्।

नदी किनारमा आधुनिक विकास

भरतपुर महानगरपालिकाको वडा नं. १ र ३ को नारायणी नदी किनारालाई सीबीच मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनका लागि गत आवमा महानगरबाट रु १ करोड रकम खर्च भई फुटपाथ बनेको तथा यस आवमा पर्यटन मन्त्रालयबाट करिब ७ करोडको टेन्डर आह्वान भइसकेको छ।

यातायात कार्यालय स्थापना

यातायात कार्यालयको स्थापनाका लागि महानगरपालिकाको तर्फबाट सम्पूर्ण तयारी कार्य अगाडी बढेको छ। यस कार्यालयको स्थापनाबाट स्थानीय राजश्वमा वृद्धि, स्थानीय आर्थिक क्रियापकलापहरूमा वृद्धि र स्थानीय बासिन्दाले सहज रूपमा सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

यसका साथै महानगरले केही मुख्य योजना छनोट गरी काम अगाडि बढाउने तयारी गरेको छ। महानगरले आगामी आर्थिक वर्षबाट प्रारम्भ गर्न लागेका केही योजना यस्ता छन्।

हुलाकी सडक

हाकिमचोक जगतपुर हुलाकी सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको ६ मिटर सडकलाई ७ मिटर कालोपत्रे बनाउने र बाँकी ९ किमि सडकखण्डलाई सतहढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ।

विमानस्थल सुधार

भरतपुर विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यकसमेत भएकोले विमानस्थल विस्तार एवं सुधार गर्नका लागि विगत लामो समयसम्मको प्रयासपछि विभिन्न चरणमा छलफल गरि गति लिएको छ। यसको निर्माण कार्य निकट भविष्यमा हुने विश्वास लिएको छ।

चौबिसकोठी मेघौली सडकखण्ड

चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ। साथै चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ।

सिटी हल

महानगरको गौरवको योजनाको रूपमा रहेको सिटीहल निर्माणका लागि रू. ८८ करोड सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भइसकेको छ।

पुल्चोक गोन्द्राङ सडक

सडक विभागबाट निर्माणाधिन यस सडकको रु १ अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ। यस सडकको निर्माणबाट आधुनिक र व्यवस्थित फुटपाथ सहितको सडक निर्माण हुनुको साथै महानगरको सौन्दर्यमा वृद्धि हुनेछ। साथै सहरी विकास कार्यालयमार्फत् लक्ष्मीनारायण मन्दिर, रानीपोखरी पार्क, विरामी कुरूवा घर, भरतपुर केन्द्रीय बस टर्मिनल गरी रु ३१ करोडको काम अन्तिम चरणमा पुगेका छन्।

स्मार्ट सडकबत्ती

महानगरपालिकाको पहल र २०५ लागत सहभागितामा रु २० करोडको लागतमा निर्माणाधिन यस योजनामा नेपाल विद्युत प्राधिकरणबाट बोलपत्र आह्वान भई सम्झौता भएर सात महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइसकेको छ।

महानगरीय रिङरोड

करिब ९५ किमि महानगरीय रिङ्गरोडका लागि सडक विभागबाट डीपीआर तयार भइसकेको छ। सहरी विकास तथा भवन निर्माण विभागबाट ११.५ किमि सडक निर्माण कार्य सम्पन्न हुने चरणमा छ। सडक विभागबाट यही आव।मा रिङ्गरोड निर्माणका लागि बाँकी खण्ड ठेक्कापट्टा गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको छ। रिङ्गरोडको केही खण्ड महानगरको बजेटबाटसमेत स्तरोन्नति गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्