आयल निगमको नाफा १२ अर्ब ९१ करोड ४८ लाख

surendra_poudel-Nepal oil corporation
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६–७७ मा खुद नाफा रु. १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ।

निगमको संचालक समितिको ३९ औं वार्षिक साधारण सभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गरेको निगमले जनाएको छ।

निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु. २ अर्ब २० करोड वितरण गर्न साधारण सभाले स्वीकृति प्रदान गरेको थियो।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण समेतका वित्तीय विवरणहरु पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले साधारण सभामा निगमले गरिरहेका सुधारका विविध पक्षबारे जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमुनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त गरेका थिए।

निगम व्यवस्थापनले निगमको साधारण सभा सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री विमला बिक, सचिव डा वैकुण्ठ अर्याल, शेयरधनी प्रतिनिधि, सञ्चालक समितिका पदाधिकारी, लेखापरीक्षक, निगमका कर्मचारी एवं व्यवसायीलाई धन्यवाद समेत दिएको प्रवक्ता उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्