संसद बिघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखियो

High Court
  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज भएको बहस नटुंगिएकाले ‘हेर्दाहेर्दै’ को हैसियतमा शुक्रबारको लागि सारिएको छ। सो सम्बन्धमा परेका एक दर्जनभन्दा बढी मुद्दालाई संवैधानिक इजलासबाटै टुङ्गो लगाउने वा पूर्ण बृहत इजलासबाट भन्ने विषयमा भएको पक्ष र विपक्षबीचको जिरह सुनिसकेपछि ‘थप छलफलको जरुरत देखिएकाले’ उक्त आदेश भएको बताइएको छ।

भोली माघ १ गते सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले उक्त मुद्दामाथिको सुनुवाई पर्सि शुक्रबारको संवैधानिक इजलासमा ‘हेर्दाहेर्दै’ को अवस्थामा हुने भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जना न्यायाधीशको आजको संवैधानिक इजलासले उक्त आदेश गरेको हो।

प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहनुभएको इजलासमा निवेदकको तर्फबाट बहस गरेका कानुनव्यवसायीहरूले प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिटलाई पूर्ण बृहत इजलासबाट किनारा लगाउनुपर्ने जिकिर गरेका थिए।
निवेदकको तर्फबाट कानुनव्यवसायीहरू रमण श्रेष्ठ, शम्भु थापा, दिनेश त्रिपाठीले बहस गरेका थिए।

सरकारको तर्फबाट बहस गरेका सरकारी वकिलहरूले संविधानसँग जोडिएका सबै विषयको निरूपण संवैधानिक इजलासबाट हुनुपर्ने अडान लिँदै ऐन तथा नियमहरूसँग सम्बन्धित विषय मात्र पूर्ण वृहत इजलासमा जाने तर्क गरेका थिए। उनीहरूको दलिल थियो ‘प्रतिनिधिसभा विघटनविरुद्धका सबै मुद्दा संविधानको धारा र उपधारासँग जोडिएकाले संवैधानिक इजलासबाटै निरूपण हुनुपर्छ।’