सुवास नेम्वाङ कसको दवावमा फेरिए ?

subash_newang_7
  • 444
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको केपी ओली समूहले निर्वाचन आयोगलाई चुनावको तयारी नरोक्न र तदारुकताका साथ लाग्न आग्रह गरेको छ। नेता सुवास नेम्वाङ सहितको टोलीले बुधवार आयोगका पदाधिकरीलाई भेटेर चुनाव तोकिएकै समयमा सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

प्रचण्ड र माधव नेपाल सोमबार आफैं निर्वाचन आयोगको कार्यालय गएर चुनाव सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेका थिए। त्यसको दुई दिनपछि निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सन्दर्भमा पठाएको पत्रको लिखित जवाफ बोकेर आयोग पुगेका ओली समूहका नेताहरुले चुनावी तयारी तदारुकतासाथ लैजान आग्रह गरेको हुन्।

उनीहरुले पार्टी अध्यक्ष ओली र महासचिव बिष्णु पौडेल रहेको पार्टीनै आधिकारिक भएकाले अन्यौलमा नरहन आग्रह गरेका छन्। आयोगबाट फर्केपछि नेम्वाङले एक अनलाईनसँग भनेका छन्, ‘हामीले आफ्नो जवाफ दिएका छौं र पार्टीको आधिकारिकता केपी ओली रहेको ठाउँमै हुन्छ यसमा कुनै समस्या छैन। बरु हामीले निर्वाचनको तयारी तीब्रताका साथ अघि बढाउन आयोगलाई आग्रह गरेका छौं।’

सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको र चुनावको तयारी रोक्न नभनेकाले आयोग कानून बमोजिम चल्ने नेम्वाङले बताए। आयोगले कानून बमोजिम नै आयोगले निर्वाचनका कामहरु अघि बढाइरहेको जानकारी दिएका थिए। प्रचण्ड-माधव पक्षले सर्वोच्चअदालतमा मुद्दा लम्ब्याउने र निर्वाचन आयोगलाई चुनावको कार्यक्रम रोक्न दबाब दिने तिकडम अपनाएर देशलाई संवैधानिक संकटतर्फ लैजान खोजेको आरोप ओली पक्षको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गरे उनको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने विषयमा राष्ट्रिय बहस भइरहेकोका बेला ओली समूहका नेता सुवास नेम्वाङ मौन थिए। उनी प्रधानमन्त्रीको कमदप्रति असन्तुष्ट रहेको खबर पनि बाहिर आएका थिए। संसस विघटनको विषयमा पनि उनी सार्वजनिक रुपमा खुलेर बोलेका थिएनन्।

तर आज निर्वाचन आयोगमा पुगेर तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि नेम्वाङ प्रधानमन्त्री ओलीको संसद् विघटनको कदम ठिक रहेको निष्कर्षमा पुगेको नेकपाका एक नेताको दाबी छ। ‘निर्वाचनका लागि निर्देशन दिनु भनेको संसद् विघटनको कदम सही हो भन्ने अर्थ दिन्छ। संविधानसभाका अध्यक्ष समेत रहेका भद्र नेता असंवैधानिक कदमको समर्थन गर्न पुग्नु दुखद विषय हो,’ ती नेताले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्