प्रधानमन्त्री ओली र जी न्युजले माफी माग्नुपर्छः अखिल

Gnews
  • 185
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय न्युज च्यानल जी न्युजले माफी माग्नुपर्ने माग राखेको छ। सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री र जी न्युज दुवैले माफी माग्नुपर्ने माग राखेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भोलिपल्ट जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथामाथि भारतीय दावी हुनुपर्ने भन्ने रिपोर्ट सार्वजनिक गरेको थियो। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आज एक विज्ञप्ति निकालेर भ्रामक र तथ्यहीन सामाग्री समाचार सम्प्रेषण नगर्न र तत्काल माफी माग्न आग्रह गरेको बताएका छन्।

‘हामी चौधरी र उनको संचारसंस्थालाई यसखालको भ्रामक र तथ्यहीन सामाग्री समाचार सम्प्रेषण नगर्न र तत्काल माफी माग्न आग्रह गर्दछौं,’ अखिलको विज्ञप्तिमा भनिएको छ, ‘यससँगसँगै संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वधिनता र स्वाभिमानमा गम्भीर आँच पुर्‍याउने व्यक्ति र संस्थाहरुसँग रहस्यमय र अपारदर्शी भेट र साँठगाँठ नगर्न चेतावनी दिन चाहन्छौं।’

अखिलले प्रधानमन्त्रीलाई अपारदर्शी र कुटनीतिक मर्यादा विपरितका भेटघाट नगर्न र यसअघि गरेका कुटनीतिक मर्यादा विपरितका भेटका लागि समेत माफी माग्न माग गरेको छ। जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतको पनि दावी हुनुपर्ने बताएका थिए। भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रममा काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरी प्रसारण गर्दै चौधरीले यस्तो दावी गरेका थिए।

सगरमाथाको बेसक्याम्पसम्म पुगेका चौधरीले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने समेत बताएका छन्। उनले भनेका थिए, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज म यहाँ भन्न चाहन्छु कि माउन्ट एभरेस्टसँग भारतको के सम्बन्ध छ, वर्ष १८५२ मा राधानाथ सिक्दर, उनी पहिलो व्यक्ति थिए जसले माउन्ट एभरेस्टको उचाइ नापेका थिए, र सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो।’

राधानाथ सिकदर बंगालका प्रख्यात गणितिज्ञ भएको बताउँदे चौधरीले उनले नै सगरमाथाको पहिलो पटक उचाइ नापेको दावी गरेका छन्। माउन्ट एभरेस्ट कहिल्यै नदेखेका जर्ज एभरेस्टको नामबाट यसको नामाकरण गरिनु जायज नभएको भन्दै उनले यस्तो दावी गरेका थिए। चौधरी हेलिकप्टरमार्फत बेसक्याम्प नजिक पुगेका थिए।

यता नेकपा विभाजित भएसँगै प्रचण्ड निकट सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा अनेरास्ववियूको एक समूह प्रधानमन्त्री ओलीको विरोधमा छ। त्यस्तै ऐन महरको नेतृत्वमा रहेको अर्को अखिलको समूहले प्रधानमन्त्रीको कदमको समर्थन गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्