चार महिनापछि चालु खाता घाटामा, रेमिट्यान्स बढ्याे

Nepal-Rastra-Bank
  • 75
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। चार महिनापछि चालु खाता फेरि घाटामा गएको छ। राष्ट्र बैंकले मंसिर सम्मको प्रतिवेदन सार्वजनिक गर्दै चालु खाता घाटा २१ अर्ब ३२ करोड रुपैयाँ पुगेको जनाएको छ। गत साउन, भदौ, असोज र कात्तिक महीनामा चालू खाता निरन्तर बचतमा थियो । तर, अहिले आयात बढेसँगै नेपालको मुद्रा बाहिरिएकाले चालू खाता घाटामा गएको हो । यद्यपी यो घाटा अघिल्लो बर्षको तुलनामा केही कम हो। तर पछिल्लो चार महिनायता चालु खाता बचतमा रहँदै आएको थियो।

चालु खाता देशभित्र आउने कुल विदेशी मुद्र र वाहिरिने मुद्राबीचको अन्तर हो। बढि भित्रिए चालु खाता बचतमा हुन्छ, बढि बाहिरिए घाटा हुन्छ। देश चार महिनापछि चालु खाता घाटाको अवस्थामा पुगेको हो। विदेशी मुद्रा निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिटेन्सका कारण देशभित्र भित्रिरहेको हुन्छ। चालु खाता घाटा जीडीपीको ८ प्रतिशतसम्म पुगेको थियो। कोभिडका कारण भएको लकडाउनपछि आयात घट्दा चालु खाता घाटा हटेको थियो। पेट्रोलियम पदार्थ, यातायातका साधन र उपभोग्य सामाग्रीको आयातले घाटा भएको हो।

चालु खाता घाटा बढ्दा ठूलो चिन्ता लिनु पर्दैन, खासगरी आयात भएका बस्तु उत्पादन बृद्धि, औद्योगिक विस्तार र विकास निर्माणका लागि भएका हुन् भने। उपभोगका लागि मात्रै आयात उच्च छ र चालु खाता घाटा बढेको छ भने चिन्ता लिनु पर्ने हुन्छ। चालु खाता घाटा बढ्दा विदेशी मुद्राको सञ्चितिमा दवाव पर्छ। अहिले विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ। चालु खाता घाटाका कारण कात्तिकमा १५ खर्ब ६ अर्ब ६ करोडको सञ्चिति १४ खर्ब ७४ अर्बमा आएको हो।

शोधनान्तर भने १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा छ। कात्तिकमा एक खर्ब १० अर्ब ६५ करोड बचतमा थियो। एक देशको अन्य देशबीच हुने वित्तीय लेन देनको हिसाव नै शोधनान्तर (ब्यालेन्स अफ पेमेन्ट) हो। यसमा एक देश र बाँकी सन्सारका बीच आयात निर्यातका लागि हुने वित्तीय लेनदेन समेटिन्छ। बस्तु तथा सेवाको आयात निर्यात, वित्तीय पूँजी, वित्तीय हस्तान्तरणमा पर्छ। नेपालमा शोधनान्तर हरेक महिना मापन गरिन्छ।

ब्यापार घाटाजस्तै देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढि भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ। शोधनान्तर बचतमा बिस्तारै दबाब देखिएको छ। रेमिटेन्स भने निरन्तर बढिरहेको छ। मंसिरमा १०.९ प्रतिशतले बढेर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। एक महिनामा ८० अर्ब रेमिटेन्स भित्रिएको हो।

निर्यात ब्यापार ५.१ प्रतिशतले बढेर पाँच महिनामा ५० अर्ब ६ करोड भित्रिएको छ। आयात ९‍.६ प्रतिशतले घटे पनि ५ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ। राष्ट्र बैंकका अनुसार, कच्चा सोयाबिन तेल, चामल, एमएस बिलेट, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा, कोइलालगायतको आयात ह्वात्तै बढेको छ।

ब्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। देशले बिक्री गर्ने र खरीद गर्ने बस्तु तथा सेवा अन्तरलाई ब्यापार घाटा वा बचत भनिन्छ। निर्यात भन्दा  आयात उच्च भएमा त्यो ब्यापार घाटा हो। औद्योगित उत्पादनका कारण ब्यापार घाटा भएमा खासै चिन्ता लिनु पर्दैन। तर आन्तरिक उत्पादन नबढ्ने क्षेत्रका बस्तु आयात भएर बढेको ब्यापार घाटाबाट भने डराउनु पर्छ।

चालू आवको पाँचौं महीनामा चालू खातामात्र होइन, विदेशी विनियम सञ्चितिसमेत मङ्सिर महीनामा घटेको छ । कात्तिकमा १५ खर्ब ६ अर्ब सञ्चितिमा रहेको विदेशी विनिमय मङ्सिरमा भने घटेको देखिन्छ । गत असार मसान्तमा रू १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिकमा १५ खर्ब ६ अर्ब पुगेको थियो । तर, मङ्सिर मसान्तमा भने रू १४ खर्ब ७४ अर्ब ३४ करोडमा झरेको छ ।

आव २०७७/७८ को पाँच महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव ४ महीनाको वस्तु आयात र १३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मङ्सिर मसान्तमा ७ दशमलव ७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्