स्थायी समिति आज : के गर्दैछ माधव नेपालको कार्यदल ?

Nepal Communist Party (CPN) Leaders
  • 3.5K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज (बिहीबार) दिउँसो बस्दैछ। स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिए।

‘दिउँसो ३ बजेका लागि बैठकको सूचना आएको छ, एजेन्डाबारे केही बताइएको छैन’, पोखरेलले भने। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ।

पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो। स्थायी समितिको बैठकमा पार्टीले पहिलो र दोस्रो चरणमा गरेका संघर्षका कार्यक्रमहरुको समीक्षा हुने बताइएको छ। बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलका बारेमा पनि छलफल हुनेछ। केही दिनअघि बसेको नेकपा स्थायी समिति बैठकले नेकपाको संगठनात्मक एकता टुंगो लगाउन कार्यदल बनाएको थियो। कार्यदलमा अध्यक्ष नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भुसाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण बिष्ट, वर्षमान पुन, मातृका यादव र शक्ति बस्नेत सदस्य रहेका छन्।

गत हप्ता पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, केन्द्रीय संगठनहरू, मोर्चा संगठनका पदाधिकारीहरू र सांगठनिक एकीकरणका बाँकी कामहरू सम्पन्न गर्ने अधिकार पाएको थियो।

कार्यदलको बैठक लगातारजसो बसिरहे पनि संगठनात्मक विषयमा ठोस निर्णयमा पुगिसकेको छैन। आजको बैठकमा कार्यदलको प्रगतिबारे पनि छलफल हुने एक स्थायी समिति सदस्यले बताए।

पार्टी एकता भएको अढाइ वर्ष नपुग्दै नेकपाबाट एउटा समूह बाहिरिएपछि नयाँ नीतिका आधारमा पार्टी एकताका काम अघि बढाउन लागिएको हो। त्यसको सम्पूर्ण गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनेको थियो। कार्यदलले संगठनात्मक नीति, विधि र प्रक्रिया मूर्तिकृत गरी एकताका काम सम्पन्न गर्ने तयारी गरेको छ। बिहीबारको बैठक संयोजक नेपालले कार्यदलको प्रगति प्रस्तुत गर्नेछन्।