झनै घट्यो बैंकहरुले दिने व्याजदर, अब कुन बैंककाे व्याजदर कति?

bank-shutterstock
  • 61
    Shares
लाेकपाटी न्यूज

माघ १ गतेबाट लागू हुने गरी बैंक तथा वित्तिय संस्थाहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।वित्तीय संस्थामा तरलताको अवस्था सुधार हुँदै गएको अवस्थामा वाणिज्य बैङ्कहरुले भने निक्षेपमा दिने ब्याजदर भने झनै घटाएका छन्। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुद्दति निक्षेपको माथिल्लो र बचतको न्यूनतम ब्याजबीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने नीतिगत घोषणा गरेको थियो । बैंकहरूले मुद्दति निक्षेपमा धेरै र साधारण बचतमा कम मात्र ब्याज दिन थालेपछि हस्तक्षेप गर्न यस्तो व्यवस्था अघि सारिएको हो।

यसअघि नै ज्यादै कम भएको मानिएको बचत तथा मुद्दती निक्षेपको ब्याजदर माघ महिनादेखि लागु हुनेगरी झनै घटाइएको हो। राष्ट्र बैङ्कले प्रत्येक महिनाका लागि लागु हुने ब्याजदर महिना सुरु हुनुभन्दा अघि नै प्रकाशित गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै माघ महिनाका लागि सबैजसो बैङ्कहरुले यस्तो ब्याजदर प्रकाशन गरेका हुन्।

अधिक तरलताकाबीच राष्ट्र बैंकले बचतको ब्याजदर धेरै घट्न नदिनका लागि ल्याएको नीतिले खासै काम गरेको छैन । निक्षेपको ब्याजदर अझै घट्छ कि भन्ने चिन्ता समेत सुरु भएको छ । बैंक ब्याजदर घट्दा सेयर बजारलाई भने प्रत्यक्ष फाइदा पुग्ने भएको छ। ब्याजदर निकै न्यून विन्दुमा आएका बेला सेयर बजार भने क्रमशः माथि जाने गरेको देखिन्छ।

बैंकहरुले तोकेका व्याजदर अनुसार न्युनतम १.५ प्रतिशत देखि अधिकतम ५.१ प्रतिशतसम्म तोकेका छन्। ब्याजदर तालिका अनुसार बचत निक्षेपमा सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । यो बैङ्कले बचत खातामा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म मात्रै ब्याज दिने जनाएको छ । त्यस्तै नबिल बैङ्क र एनआईशी एशिया बैङ्कले बचतमा खातामा दिने ब्याजदर १.५ प्रतिशत देखि ३.५ प्रतिशतसम्म रहेको बताइएको छ। एनआइसी एसीया बैंकले बचतको ब्याजदर १.५ प्रतिशत मात्र दिने जनाएको छ । सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५ प्रतिशतसम्म ब्याज पाइनेछ । बैंकको मंसिर मसान्तसम्मको आधार दर ६.६५ प्रतिशत छ । यसमा ७प्रतिशत सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले १३प्रतिशत देखि १५प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।

सनराइज बैङ्क र बैङ्क अफ काठमाण्डूले २ प्रतिशतदेखि ३.५ प्रतिशतसम्म तथा नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, ग्लोबल आईएमई बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, लक्ष्मी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, सिद्धार्थ बैङ्क र मेगा बैङ्कले बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेका छन् ।
उता, नेपाल बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म, सिटिजन्स बैङ्कले २.५ प्रतिशत देखि ४.५ प्रतिशतसम्म, नेपाल बंगलादेश बैङ्कले २.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर तोक्दा प्राइम कमर्शियल बैङ्क, सिभिल बैङ्क र एनसीसी बैङ्कले ३ देखि ५ प्रतिशत ब्याजदर तोकेका छन् ।

सेञ्चुरी कमर्शियल बैङ्कले यसअघि तोकेको ३.५ देखि ४.५ प्रतिशतको ब्याजदरमा कुनै फेरबदल गरेको छैन । कृषि विकास बैङ्कले भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बचत निक्षेपमा सर्वाधिक ब्याजदर भने एनएमबि बैङ्कको छ । एनएमबि बैङ्कले बचत निक्षेपमा ३.१ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

उता, मुद्दती निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । सो बैङ्कले १ वर्षे मुद्दती निक्षेपमा ५ प्रतिशत मात्रै ब्याज दिने उल्लेख गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ६ प्रतिशत र एनसीसी बैङ्कको ब्याजदर ६.२५ प्रतिशत छ । त्यस्तै, नबिल बैङ्क, एभरेष्ट बैङ्क, सानिमा बैङ्क, एनआईशी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क र प्रभु बैङ्कले ६.५ प्रतिशत तथा नेपाल बंगलादेश बैङ्क र कुमारी बैङ्कले ६.७५ प्रतिशत ब्याज दिने जनाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्